८ कार्तिक २०८३, आइतबार

घुस लिँदै गरेको अवस्थामा विद्युत्का कर्मचारी पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

nepali-currency Paisaनेपालगन्ज, १६ साउन । नेपाल विद्युत् प्राधिकरण नेपालगन्ज वितरण केन्द्रका सुपरभाइजर विनोद पण्डितलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले रु २३ हजार घुस लिँदै गरेको अवस्थामा पक्राउ गरेको छ ।

आज दिउँसो करिब २ बजेको समयमा सुपरभाइजर पण्डितको कार्यकक्षमा अख्तियारको टोलीले उनलाई घुस लिँदै गरेको अवस्थामा पक्राउ गरेको हो ।

नेपालगन्जस्थित प्राइमलाइभ इन्स्योरेन्स कार्यालयमा विद्युत्को थ्री-फेज लाइन जडान गर्न अवैध रुपमा रु २३ हजार घुस माग गरेपछि इन्स्योरेन्सका कार्यालय प्रमुख कैलाश देवकोटाले बाँके जिल्लाको कोहलपुरस्थित अख्तियारको सम्पर्क कार्यालयमा सो विषयमा जानकारी गराउनुभएको थियो ।

कार्यालय प्रमुख देवकोटासँग दुई महिनाअघिदेखि नै लाइन जडानमा विद्युत्का कार्यालय प्रमुखलाई समेत रकम दिनुपर्छ भनी पण्डितले घुस माग गरेका थिए ।

सुरुमा रु ३० हजार घुस रकम माग गरेका सुभरभाइजर पण्डित पछि रु २३ हजारमा काम गर्न तयार भएका थिए । पण्डितले इन्स्योरेन्सका प्रमुख देवकोटासँग घुस माग गरेको संवादको अडियो रेकर्ड पनि सुरक्षित रहेको जनाइएको छ ।

“नियमानुसार सबै प्रक्रिया पूरा गरेर आवेदन उपर वितरण केन्द्रका प्रमुखको दस्तखत गर्न नमानेपछि सुपरभाइजर पण्डितले रकम दिएर नेपाल विद्युत् प्राधिकरण नेपालगन्ज वितरण केन्द्रका प्रमुखलाई मनाउन सकिने भनी बोलेको कुरा हामीले रेकर्ड गरेका छौँ” – इन्स्योरेन्सका प्रमुख देवकोटाले राससलाई बताउनुभयो ।

घुस काण्डमा संलग्नमाथि नियमानुसार कारबाही प्रक्रिया अघि बढाइएको बताउँदै आयोगका क्षेत्रीय सम्पर्क कार्यालयका प्रमुख वसन्त कुँवरले छानबिनपछि नेपाल विद्युत् प्राधिकरण नेपालगन्ज वितरण केन्द्रका प्रमुख पनि कारबाहीको दायरामा आउन सक्ने सम्भावना रहेको बताउनु भयो । रासस