– अनिल खत्री
गुल्मी साउन १५ । गत आर्थिक वर्षमा गुल्मी जिल्लाका लागि विनियोजित रकम मध्ये झण्डै १५ करोड रुपैयाँ खर्च हुन नसकी फ्रिज भएको छ ।
कोष तथा लेखा नियन्त्रक कार्यालय गुल्मीले दिएको जानकारी अनुसार अर्थिक वर्ष २०७१÷०७२ को चालु खर्च तर्फ कुल वजेट २ खर्व, ३९ करोड ८५ लाख ८२ हजार ९ सय ८१ रुपैयाँ गुल्मीका लागि विनियोजित भएको थियो । त्यस मध्ये ९६.८४ प्रतिशत रकम खर्च भएको र ३. १६ प्रतिशत अर्थात ७ करोड ५५ लाख ९७ हजार ५ सय ८६ रुपैयाँ खर्च हुन नसकी राज्य कोषमा फिर्ता जाने भएको कोष नियन्त्रक दधिराम मरासीनीले जानकारी दिए ।
उनका अनुसार पुँजीगत तर्फ कुल ८२ करोड २७ लाख ७७ हजार २ रुपैया विनियोजन भएकोमा ९१.४७ प्रतिशत खर्च भएको तर ८.५२ प्रतिशत अर्थात ७ करोड १ लाख ८० हजार ७ सय ५ रुपैयाँ खर्च हुन नसकी फ्रिज गएको छ । खर्च हुन नसकेको यो रकम न्युन प्रतिशत भएको कोष नियन्त्रक मरासीनीले बताए । ‘अघिल्लो आर्थिक वर्षमा पुँजीगत तर्फ ८९.२७ प्रतिशत खर्च भएको थियो ।
त्यस्तै चालु तर्फ ९६. ७२ प्रतिशत खर्च भएको थियो कोष नियन्त्रक मरासीनीले भने ‘यस वर्ष खर्च रकम बढेको छ र फ्रीज रकम कम भएको छ सम्भवतः यो प्रतिशत अन्य जिल्लाको तुलनामा नमुना हुन सक्छ ।’ स्थानिय विकास अधिकारी डिलाराम पन्थीले पनि जिल्ला विकास समितिमा खर्च हुन नसकेको रकमको आंकडा देखाउँदै भनेका छन यस वर्ष गुल्मी जिल्लाको खर्च रकम देशभर कै राम्रो नतिजा हुन सक्छ ।















प्रतिक्रिया