बाबियाचौर (म्याग्दी), १५ साउन । म्याग्दीको मुदी– ५ नेरवाङको गाखर्कमा पहिरोले करिब रु ५० लाख बराबरको पशुधनको क्षति गरेको छ ।
गाखर्कमा रहेका चारवटा गोठमा रहेका करिब ३५० गाई, गोरु, भैँसी र बाख्रा बुधबार रातिको पहिरोले पुरेर क्षति गरेको हो । पहिरोमा पुरिएर छजना किसानको ज्यान जानुका साथै रु ५० लाख बराबरको पशु क्षति भएको मुदीको प्रथम धौलागिरि युवा ब्लबका अध्यक्ष खवीन घर्तीले जानकारी दिनुभयो ।
दुई सय ५० वटा बाख्रा र ८० भन्दा बढी गाई, गोरु र भैँसी पहिरोमा पुरिँदा रु ५० लाखको हाराहारीमा क्षति भएको मूल्याङ्कन गरिएको घटनास्थलमा उद्धारमा खटिएका घर्तीले बताउनुभयो ।
तीनवटा गोठका किसानसहित पशुवबतु पहिरोमा परेका छन् भने एकजना किसान गोठबाट घरमा गएकाले बाँच्न सफल भएका छन् । घटनास्थलमा १० वटा गाईगोरु र एकजना मानिसको शवबाहेक केही पनि फेला पर्न सकेको छैन ।
“पहिरो र वरपरका जङ्गजमा सकेजति खोजी गर्दासमेत नभेटिएपछि पुरिएका पाँचजनाको परम्पराअनुसार चिहान बनाएर आज दिउँसो सत्गत् गरी गाउँ फर्कियौँ” – घर्तीले भन्नुभयो ।
करिब आठ सय मिटर फराकिलो भएर फैलिएको पहिरोले गोठ रहेको सबै ठाउँ पुरेकाले आफन्तले मृत्यु भएको मानेर परम्पराअनुसार सत्गत् गरी घर फर्किएका हुन् । दुई सयजना गाउँले र ११ जना प्रहरीले बिहीबार दिनभर र आज दिउँसोसम्म पहिरोमा बेपत्ता भएकाको खोजी गरेका थिए ।
यसैबीच गाखर्कमा आएको पहिरोका कारण गौरखोलामा आएको बाढीले मुदी र नेरवाङ जोड्ने झोलुङ्गे पुल बगाउँदा आवतजावत प्रभावित भएको छ । पुल नहुँदा नेरवाङका ४० घरधुरी घोडेटो बाटोको सुविधाबाट विच्छेद भएका छन् । तत्काल वैकल्पिक व्यवस्था गरिदिन स्थानीयवासीले माग गरेका छन् । रासस















प्रतिक्रिया