३० आश्विन २०८३, शुक्रबार

नेपाल स्कटल्याण्डविरुद्ध दोस्रो खेल खेल्दै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

nepali-cricket1काठमाडौं, १५ साउन । आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गतको दोस्रो खेलमा पनि नेपाल आज स्कटल्याण्डसँग भीड्दै छ ।

खेल दिउँसो साढे तीन बजेपछि स्कटल्यान्डको घरेलु मैदान क्याम्बुस्डुन न्यु ग्राउण्ड ऐरमा सुरु हुँदैछ । पहिलो खेलमा आयोजक स्कटल्याण्डसँग तीन रनको झिनो हार बेहोरेको नेपाल आज थप तयारीका साथ मैदानमा उत्रिन लागेको हो ।

बुधबार भएको पहिलो खेलमा नेपाल स्कटल्याण्डसँग तीन रनले पराजित भएको थियो । सानो अन्तरले पराजित भएपनि उत्कृष्ठ प्रदर्शन गरेको नेपाली टोलीले आजको खेलमा उच्च मनोबलका साथ खेल्ने कप्तान पारस खड्काले बताए । ‘आज हामी थप तयारीका साथ मैदानमा उत्रिदैछौं । सम्भवत आजको खेल हाम्रै पक्षमा हुनेछ । किनकि पहिलो खेलबाट हामीले थप उर्जा र हौसला पाएका छौं ।’ उनले भने ।

पहिलो खेलमा ओपनर अनिल मण्डलले शतकीय इनिङ खेलेका थिए । पारस खड्काले ७० रन जोडेका थिए । तेस्रो विकेटका लागि उनीहरुबीच १३९ रनको साझेदारी भएको थियो ।

दुई वर्षसम्म चल्ने लिग होम एण्ड अवेका आधारमा हुन्छ । स्कटल्याण्डले पनि अब नेपालको भ्रमण गर्नेछ नेपालले नेदरल्याण्ड, हङकङ, केन्या, युएई, नामिबिया र पपुवा न्युगिनीसँग यसरी नै होम एण्ड अवेका आधारमा दुई वर्षसम्म खेल्नेछ ।

गत असारमा सम्पन्न ट्वेन्टी ट्वेन्टी विश्वकप छनोटमा लज्जास्पद हार बेहोर्दै प्रतियोगिताबाट बाहिरिएको नेपाली टोलीका स्कटल्यान्डविरुद्वको आजको खेल पनि निकै महत्वपूर्ण मानिएको छ ।

यसअघि एक दिवसीय क्रिकेटमा नेपाल र स्कटल्यान्ड एक पटक आमनेसामने भएका थिए । यसको नतिजा स्कटल्यान्डको पक्षमा गएको थियो । आइसिसी विश्व लिग क्रिकेट डिभिजन टुमा उत्कृष्ट खेल प्रदर्शन गरेको आधारमा नेपाल उक्त प्रतियोगिताको लागि छानिएको हो ।
आठ देश सहभागी उक्त च्याम्पियनसीप सन् २०१९ को इङ्ग्ल्यान्ड र वेल्समा हुने विश्वकप लागि छनोटको आधार पनि हो । यसबाटै छ टोली दोस्रो चरणमा पुग्नेछन् ।

नेपाली टोलीमा कप्तान पारस खड्का, उपकप्तान ज्ञानेन्द्र मल्ल, शक्ति गौचन, वसन्त रेग्मी, महेश क्षेत्री (विकेट किपर), अनिल मण्डल, शरद भेषावकर, पृथु बाँसकोटा, राजेश पुलामी मगर, सिद्धान्त लोहनी, प्रदीप ऐरी, सोमपाल कामी र अभिनाश कर्ण रहेका छन् ।