छिमेकी भारतले नेपालको नयाँ संविधानमा धर्मनिरपेक्षता राख्ने या नराख्नेबारे भइरहेको बहसप्रति चासो देखाएको छ।भारतको पाँचदिने भ्रमणमा रहेका नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवासँग भारतीय विदेशमन्त्री सुषमा स्वराजले उक्त चासो देखाएकी हुन्। ३० मिनेट चलेको भेटमा स्वराजले नयाँ संविधानमा धर्मनिरपेक्षता राख्ने या नराख्ने भन्ने सम्बन्धमा जारी बहसबारे पनि चासो राखेको भेटमा सहभागी देउवापत्नी आरजुले अन्नपूर्णलाई जानकारी दिइन्।
‘जनताले नेपाललाई हिन्दु राज्य नै कायम गर्न माग गरिरहेको पनि देखिन्छ। अब धर्मनिरपेक्षताबारे नेपालका दलहरूले के गर्छन् भन्ने उहाँको चासो थियो,’ आरजुले भनिन् । देउवाले संविधानमा धर्मका सम्बन्धमा के शब्दावली राख्ने भन्नेबारे छलफल भइरहेको बताएका थिए।
देउवाले सबै राजनीतिक दलले संघीयताबारे सहमतिको प्रयास गरिरहेको भन्दै सबैलाई मान्य हुने संविधान ल्याउने प्रयास जारी रहेको बताएका थिए। भारतीय विदेशमन्त्री स्वराजले नेपालमा संविधान निर्माणविरुद्ध सडकमा भइरहेका आन्दोलनहरूप्रति समेत गहिरो चासो व्यक्त गरेकी छन्।
‘भारत नेपाली जनताको भावनाको सम्मान होस् र जारी संविधान निर्माणको सडकमा विरोध नहोस् भन्ने चाहन्छ,’ स्वराजलाई उद्धृत गर्दै आरजुले भनिन्। उक्त अवसरमा स्वराजले नेपालको संघीयताबारे समेत चासो राखिन्। ‘संघीय प्रदेशहरू कुन प्रकृतिको हुने भन्नेबारे भविष्यमा कुनै कम्प्रोमाइज हुनसक्छ या सक्दैन भन्नेबारे उहाँले जान्न चाहनुभयो,’ आरजुले भनिन्।
‘तर संघीयता, लोकतान्त्रिक मान्यता र प्रजातन्त्रका आधारभूत विषयमा कुनै कम्प्रोमाइज नहुने देउवाले जानकारी गराउनुभयो,’ उनले भनिन् । पञ्चेश्वर बहुउद्देश्यीय परियोजना अघि बढेकोमा समेत देउवा र स्वराजले खुशी व्यक्त गरे।
त्यस्तै भारतले भूकम्पपछि नेपालको पुनर्निर्माणमा भइरहेको ढिलाइप्रति असन्तुष्टि जनाएको छ। पूर्वप्रधानमन्त्री देउवासँग बिहीबार भएका अलगअलग भेटमा भारतीय विदेशमन्त्री स्वराज र विदेशसचिव एस जयशंकरले पर्याप्त अन्तर्राष्ट्रिय सहयोग र सद्भाव हुँदाहुँदै पनि पुनर्निर्माणको कामले गति लिन नसकेको भन्दै असन्तुष्टि जनाएका हुन्।
पाँचदिने भारत भ्रमणमा गएका नेपाली कांग्रेसका वरिष्ठ नेता देउवासँग विदेशमन्त्री स्वराजले भत्किएका संरचनाको पुनर्निर्माण तथा भूकम्पपीडितको पुनस्र्थापना प्रक्रियालाई सक्दो चाँडो अघि बढाउन आग्रह गरेको भेटमा सहभागी देउवापत्नी आरजुले अन्नपूर्णलाई जानकारी दिइन्। देउवाले नेपालको पुनर्निर्माणमा भारतीय सहयोगका लागि धन्यवाद दिए।
छिमेकी चीन र भारतले पुनर्निर्माणमा पूर्ण रूपमा सघाउने तत्परता देखाए पनि सरकारले पुनर्निर्माण प्राधिकरणलाई अझै पूर्णता दिन सकेको छैन। प्रधानमन्त्रीको अध्यक्षतामा रहने प्राधिकरणको प्रमुख कार्यकारी अधिकृत चयनका विषयमा अझै पनि दलहरूबीच सहमति हुन सकेको छैन।
भारतले नेपालको पुनर्निर्माणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनका क्रममा पुनर्निर्माणका लागि अनुदान तथा ऋण सहायता गरी एक अर्ब अमेरिकी डलर उपलब्ध गराउने वाचा गरेको थियो।त्यस्तै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको गत वर्ष सम्पन्न नेपाल भ्रमणका क्रममा घोषणा गरिएको एक अर्ब अमेरिकी डलर ऋण सहायतालाई अनुदानमा परिणत गरिएको सम्मेलनका क्रममा भारतले घोषणा गरेको थियो।
आरजुका अनुसार भारतीय विदेशसचिव जयशंकरले भारतीय लगानीमा नेपालमा बन्न लागेका काठमाडौं—तराई फास्ट ट्र्याकलगायतका परियोजना अघि बढ्न नसकेकोमा समेत चिन्ता व्यक्त गरे।भारत भ्रमणमा रहेका देउवाले शुक्रबार भारतीय राष्ट्रपति प्रणव मुखर्जी र प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेट्ने कार्यक्रम छ।
उनले उत्तराखण्डस्थित टेहरी जलाशयको शनिबार भ्रमण गर्ने कार्यक्रम छ। त्यस्तै भारतीय रक्षा मन्त्रालय मातहतको थिंक ट्यांक इन्स्टिच्युट अफ डिफेन्स स्टडिज एन्ड एनालाइसिसमा प्रवचन दिने कार्यक्रमसमेत छ। अन्नपूर्ण पोष्टमा समाचार छ ।















प्रतिक्रिया