३० आश्विन २०८३, शुक्रबार

मुल्य घटेसंगै पाल्पाका सुन पसलमा ग्राहकको भीड

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sun-pasal– सुशिल नेपाल
पाल्पा, १४ साउन । तीज आउन अझ डेढ महिना बाँकी छ । विवाहको लगन शुरु हुन त अझै धेरै समय छ । तर, सुनचाँदी पसलहरुमा ग्राहकको भीडभाड देख्दा लाग्छ कि तीज र लगन शुरु भैसकेको छ ।

सुनचाँदी व्यवसायीलाई पनि यतिबेला तीज र विवाहको लगन आएसरह भएको छ । जिल्लाका सुनचाँदी पसलहरु केहि दिनयता ग्राहकले भरिभराउ भएका छन् । तर जुन भीडभाड छ त्यो न त तिजले नै भएको हो न त विवाहको लगन ले नै । केही दिनदेखि सुनको मुल्यमा निरन्तर गिरावट आएसंगै भएको भीडभाड निरन्तर बाक्लिदो छ । सुनको मुल्य घटेको मौका छोपी ग्राहकहरु सुनको जोहो गर्न लागिपरेका छन् ।

‘विगतका बर्षमा यस्तो भीडभाड लगन र तीजमा पनि हुँदैनथ्यो, अहिले त मुल्य घटेर एकदमै भीडभाड भएको छ ।’ तानसेनको असनटोलमा रहेको बसन्त बज्राचार्य सुनचाँदी गहना पसलका सञ्चालक बसन्त बज्राचार्यले भने-‘५/६ दिन भयो भीडभाड बढेको, सुन सकिएकाले कतिलाई त त्यसै फर्काउनुपरेको छ ।’

प्रतितोला ६३ हजार पुगेको सुन बुधवार तानसेनमा ४८ हजार ५ सयमा कारोबार भएको थियो । भूकम्पपछि घटेको सुनको व्यापार मुल्य घटेसंगै उत्साहजनक रुपमा वृद्धि भएको हो । ग्राहकको अत्याधिक भीडले पसलमा ग्राहकहरु बस्ने ठाउँसमेत नहुँने व्यवसायीहरु बताउँछन् । ‘मुल्य घटेकाले निकै चहलपहल भएको छ, तानसेनको असनटोलमा रहेको हरिओम सुनचाँदी पसलका प्रोपाइटर सुदिप गहतराजले भने–‘यस्तो चहलपहत त अब तीज र लगनको समयमा पनि हुँदैन होला ।’

तीजलाई मात्र नभई लगनलाई समेत केन्द्रित गरेर ग्राहकले सुन किन्ने गरेको व्यवसायीहरु बताउँछन । सुनको व्यापार उत्साहजनक रुपमा भएपनि सुन प्राप्त गर्न नसक्दा समस्या भएको व्यवसायीहरु बताउँछन् । उता ग्राहकहरु भने सुन किन्न नपाउँदा व्यवसायीहरुले सुन लुकाउन थालेको बताउँछन् ।