पथरी (मोरङ), १४ साउन । जैन धर्मावलम्बीको पर्व चतुर्मास आजबाट औपचारिक रुपमा शुभारम्भ भएको छ । विराटनगरमा आर्चाय महाश्रमणले जैनमुनि तथा साध्वीलाई धार्मिक अनुशासनको शपथ गराउँदै चतुर्मासको औपचारिक शुभारम्भ गर्नुभयो ।
चार महिनाको यो अवधिमा जैनमुनि, साध्वी तथा श्रावकले पालना गर्नुपर्ने नियमको विषयमा आचार्यले जानकारी गराउनुभएको छ । महाश्रमणले यो अवधिमा एक गुरु एक विद्या, धारण गरेको बस्त्रबाहेक अन्य लिन नहुने, तत्वज्ञानमा ध्यान दिनुपर्ने स्मरण गराउनुभयो ।
जैन धर्मावलम्बीबाहेकको भिक्षा लिन जाँदा पनि मङ्गलपाठ गर्न, विद्युतीय उपकरण प्रयोग नगर्न, श्रावक पुरुषले समेत चतुर्मासका नियम पालना गर्न आग्रह गरिएको थियो । जैनमुनि तथा साध्वीहरु खासगरी बर्खाका चार महिना एकै स्थानमा उपबास बस्ने, बाहिर हिँड्डुल नगर्ने, बिहानपख नजिकैको क्षेत्रका अनुयायी जहाँ गए पनि साँझ सँधै एकै स्थानमा विश्राम गर्ने गर्दछन् ।
यो अवधिमा वनस्पति अग्लो हुने, लेउ झ्याउ उम्रने, विभिन्न किसिमका घस्रने जन्तु धेरै बाहिर निस्कने हुँदा हिंसा नहोस् भनेर यो अवधिमा एकै ठाउँ बस्ने गर्दछन् ।
चतुर्मासको शुभारम्भ गर्ने क्रममा आचार्य महाश्रमणले यो अवधिलाई सत्कर्म र तपस्यामा प्रयोग गर्न पनि अनुयायी, मुनि तथा साध्वीलाई आग्रह गर्नुभयो । चतुर्मासमा सहभागी हुन भारतबाट ठूलो सङ्ख्यामा जैन अनुयायी विराटनगर आइपुगेका छन् । अनुयायीको आगमनसँगै उनीहरुको बसोबासदेखि भोजनका लागि विशेष ध्यान दिइएको चतुर्मास आयोजक समितिका अध्यक्ष मालचन्द सुरानाले जानकारी दिनुभयो ।
चतुर्मासको चार महिनाको अवधिमा भारत तथा अन्य देशबाट १० लाख अनुयायी विराटनगर आउने आयोजकले अनुमान गरेका छन् । यो अवधिमा ध्यान, जीवन जिउने कला, दैनिक प्रवचनदेखि जैन धर्मका विविध पक्षको विषयमा समेत कार्यक्रम हुने समितिले जनाएको छ । रासस















प्रतिक्रिया