काठमाडौं, १४ साउन । पूर्वी नेपालको यातायात क्षेत्रमा उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको मितेरी यातायातको टिकट अब अनलाइनबाटै काट्न सकिने भएको छ ।
मितेरी यातायातले अनलाइनबाट बस टिकट काट्न सकिने सेवा दिँदै आइरहेको बससेवा डटकमसँगको सहकार्यमा घरबाटै अनलाइनबाट टिकट काट्न सकिने सेवाको सुरुवात गरेको हो । अबदेखि मितेरी यातायातको टिकट आफ्नो घरबाटै अथवा नजिकका इसेवा जोन, इसेवा पोइन्ट तथा ट्राभल एजेन्सीबाट काट्न सकिनेछ । मितेरी यातायातको वेभपेज (www.miteriyatayat.com.np) लगअनगरी टिकट खरिद गर्न सकिनेछ । इसेवा एकाउन्ट भएका यात्रुले आफ्नो घरबाटै मितेरीको टिकट काट्न सकिनेछ भने इसेवा एकाउन्ट नभएका ग्राहकहरूले इसेवा जोन तथा पोइन्टबाट टिकट काट्न सकिनेछ ।
सूचना र प्रविधिले आममानिसको दैनिक जनजीवन नै परिवर्तन गर्दै लगिरहेका बेला बसटिकट काट्नकैे लागि पनि यात्रुहरुले काउन्टरसम्म धाउन नपरोस् र उनीहरुले घरबाटै टिकट काटी सिधै बस चढ्न सकुन् भन्ने सुविधा दिन अनलाइन टिकटिङ सुरु गरिएको मितेरी यातायातका संचालक बिक्की गुरागाईंले बताउनुभयो । पूर्ण स्वचालित सफ्टवेयर प्रयोगगरि अनलाइन टिकटिङ सुरु गर्ने मितेरी नेपालको पहिलो यातायात कम्पनी हो । मितेरीका काउण्टरबाट काटिने सिटचार्ट र अनलाइनबाट टिकट काट्ने ग्राहकले प्रयोग गर्ने सिटचार्ट एउटै हुनेछ, जसले गर्दा टिकटमा मनपरि गर्ने, दोहोरिने लगायतका समस्या नहुने गुरागाईंको भनाई छ ।

मितेरी यातायातले सुरु देखि नै एसी, डिलक्स् जस्ता उच्च सुविधा भएका गुणस्तरीय यातायातका साधन संचालन गरेको र आफुले पनि विकसित मुलुकमा अनलाइन टिकटिङले निकै सहजता ल्याएको देखेर यो सुविधा सुरु गरीएको गुरागार्इंले बताउनुभयो ।
अनलाइनबाट टिकट काटी बिना कुनै झन्जट सिधै बस चढ्न सकिने छ । अनलाइनबाट टिकट काटी प्रिन्टेड टिकट अथवा यात्रुको मोबाइलमा आएको एसएमएसका आधारमा गाडिमा चढ्न सकिने छ । अनलाइन टिकट काट्दा यात्रुले काउन्टरकै दररेटमा आफुले चाहेको सिट छानेर काट्न सक्नेछन् ।
अस्तब्यस्त बनेको यातायात क्षेत्रलाई थप व्यवसायिक, मर्यादित र सम्मानित बनाउन अनलाइन टिकटिङले ठूलो भुमिका खेल्ने मितेरी यातायातको दाबी छ । हरेक सिट चार्ट अनलाइनमा देखिने हुँदा सिट लुकाउने तथा दोहोरो टिकट पर्ने संभावना रहँदैन । सबैकुरा सफ्टवेयरले नियन्त्रण गर्ने हुँदा पारदर्शीता कायम हुने र आमयात्रुहरुको विश्वास जित्न सकिने मितेरीको विश्वास छ ।
यसैबिच मितेरी यातायातले अनलाइन टिकटिङको सेवा सुचारु गरेको अवसरमा अनलाइन टिकटिङमा विशेष छुटको व्यवस्था समेत गरेको छ । कम्पनीले अनलाइनमार्फत टिकट काट्ने ग्राहकले १० देखि २० प्रतिशतसम्म छुट पाउने कम्पनीको भनाइ छ ।
मितेरीले अनलाइन टिकटिङ सुरु गरेसंगै अब पूर्बी नेपालमा यात्रा गर्नको लागि टिकट काट्न बसपार्कसम्म पुग्न नपर्ने भएको छ । दशैंको समयमा समेत अब यात्रुहरुले ढुक्कका साथ अनलाइनबाट टिकट काट्न सक्नेछन् ।
मितेरी यातायात पूर्वी नेपालमा सबैभन्दा उत्कृष्ट सेवा प्रदान गर्दै आएको यातायात कम्पनी हो । हाल यस कम्पनीबाट पूर्वी नेपालका अधिकांश जिल्लामा यस यातायातले सेवा दिँदै आएको छ । यस यातायात कम्पनीले हरेकदिन झण्डै हजार जना यात्रुहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ । हाल मितेरीले करिब ३० वटा अत्याधुनिक किसिमका एसी, डिलक्स बसहरुबाट सेवा प्रदान गर्दै आएको छ ।
इसेवा नेपालको पहिलो अनलाइन पेमेन्ट गेटवे कम्पनी हो । जसका नेपालभर १२ हजार भन्दा बढिको संख्यामा इसेवा जोन तथा पोइन्टहरू रहेका छन् । उपत्यकामा मात्र इसेवाका १५ सय भन्दा बढि जोन पोइन्टहरू रहेका छन् ।
















प्रतिक्रिया