८ कार्तिक २०८३, आइतबार

अलपत्र यात्रुलाई हिन्दु धर्म समर्थक बन्दकर्ताले खाना खुवाए

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रत्ननगर (चितवन), १३ साउन । चितवन र नवलपरासी भएर आवतजावत गर्ने सवारी तथा यात्रु आज बन्दको दोहोरो मारमा परेका छन् ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत गैँडाकोटमा रहेको जयश्री पुल भाँचिएर गन्तव्यमा जान नपाई अलपत्र परेका यात्रु आजको बन्दले थप प्रभावित भएका छन् ।

सयौँ सवारी मङ्गलबारदेखिनै गन्तव्यमा जान नपाएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । डाइभर्सन गरेर यातायात सञ्चालन गरिएपनि प्रभावकारी नहुँदा सवारी रातिमा कट्न नपाएकाले आज पनि रोकिनुपरेको इलाका प्रहरी कार्यालय गैँडाकोटले जानकारी दिएको छ ।

अहिले चितवनको नारायणगढ, बसपार्क, पुलचोक तथा नारायणी पुल क्षेत्रमा यातायातको लाइन रहेको प्रहरीले जनाएको छ ।

नयाँ बन्ने संविधानमा हिन्दूराष्ट्र नेपाल राख्नुपर्ने माग गर्दै चरणबद्ध आन्दोलन थालेको हिन्दूराष्ट्र बचाउ अभियानले आज चितवन र नवलपरासीलगायत जिल्लामा बन्द आह्वान गरेको हो ।

बिहानैदेखि यहाँ बन्दले कलकारखाना, उद्योग, बजार, स्कुल सबै ठप्प भएका छन् । यातायातका साधनसमेत चलेका छैनन् ।

यात्रु बीचबाटोमै अलपत्रमा परेका छन् । बन्द शान्तिपूर्ण रहेको अभियानका सदस्य फूलनाथ न्युरेले बताउनुभयो ।

यसैबीच, आज बिहान बन्दका क्रममा उच्छृङ्खल गतिविधि गरेको आरोपमा पक्राउ परेका सात जना बन्दकर्ता केहीसमय अघि छाडिएका छन् । वडा प्रहरी कार्यालय, नारायणगढले उनीहरुलाई नियन्त्रणमा लिएको थियो । उनीहरुलाई रिहा गरिएको प्रहरीले जनाएको छ ।

यात्रु र बन्दकर्तालाई खाना र खाजाको व्यवस्था

यसैबीच, आजको बन्दमा नारायणगढको पुलचोकमा भने फरक दृष्य देखिएको छ । सबै अलपत्रमा पर्ने र खान पनि नपाउने यात्रु भने यो पटक भोको बस्नुपरेको छैन ।

नारायणगढमा बन्दकर्तालगायत स्थानीय व्यवसायी नै स्वतःस्फुर्तरुपमा खाना र खाजाको जोहोमा लागेका छन् ।

आएका आगन्तुकले समेत सक्दो सहयोग गर्ने गरेको र स्थानीय व्यवसायी कसैले चाउचाउ, कसैले पानी दिइरहेका छन् भने कसैले नगद नै सहयोग गरेर यात्रुलाई खाना खुवाइरहेका छन् ।

एकजना बन्दकर्ता फूलनाथ न्युरेले यात्रुलाई खाना र खाजाको व्यवस्था गरिएको बताउनुभयो । उहाँले स्वतःस्फूर्तरुपमा आएको सहयोगबाट यात्रुलाई खानेकुराको व्यवस्थापन गरिरहेकाले कुनै यात्रु भोको बस्नु नपर्ने उहाँको भनाइ छ ।

रिपोर्टिङका क्रममा पुलचोक पुग्नुभएका पत्रकार नारायण सापकोटाले स्वतःस्फूर्तरुपमा बन्दकर्ता र यात्रुलाई खाना र खाजाको व्यवस्था भएको जानकारी दिनुभयो, तर यात्रुले भने गन्तव्यमा पुग्नु सबैभन्दा पहिलो कुरा भएको भन्दै दुखेसो गरिरहेका छन् । रासस