१ कार्तिक २०८३, शनिबार

‘सत्तालिप्सा त्याग्नुस्, प्रजातन्त्रमा विश्वास गर्नुस्’ : ओबामा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

barak-obamaअदिसअबाबा (इथियोपिया), १२ साउन । अमेरिकी राष्ट्रपतिले आफ्नो अफ्रिकी युनियनलाई मङ्गलबार गरेको सम्बोधनमा अफ्रिकी नेताहरुलाई प्रजातान्त्रिक शासन प्रणालीमाथि विश्वास राख्न आग्रह गर्नुभएको छ ।

राष्ट्रपति ओबामाले सम्बोधनका क्रममा भन्नुभयो, “सत्तालिप्सा त्याग्नुस र अफ्रिकाबाट भ्रष्टाचार अन्त्य गरी शान्ति अनि अमन चयन कायम गर्ने अठोट गर्नुस ।”

सम्बोधनमा उहाँले विश्वको अफ्रिकालाई हेर्ने दृष्टिकोणमा परिवर्तन हुनुपर्नेसमेत उक्त अवसरमा बताउनुभयो । अफ्रिकी राष्ट्रहरुमा उद्योग, कलकारखाना तथा व्यापारिक गतिविधिलाई समेत बढाउन आग्रह गर्नु हुँदै वैदेशिक सहायतामा मात्रै निर्भर नरहन अनुरोध गर्नुभयो ।

अमेरिका अफ्रिकासँग आतङ्कवाद र द्वन्द्व हटाउने अभियानमा सधैँसँगै रहने विश्वास उक्त अवसरमा राष्ट्रपति ओबामाले ब्यक्त गर्नुुभयो ।

अफ्रिकाको प्रजातान्त्रिक विकासका लागि सम्बन्धित राष्ट्रका नेताहरुले प्रजातान्त्रिक अभ्यासमा विश्वास गर्नुसमेत जरुरी भएको बताउनुहुँदै उहाँले भन्नुभयो, “कोही पनि जीवनभर राष्ट्रपति रहन सक्दैन ।”

“आज म तपाईहरुसँग इमान्दारका साथ भन्नु चाहन्छु, म मेरो दोस्रो कार्यकालमा छु र मेरो काम मन पराउँछु । तर हाम्रो संविधानअनुसार अर्को कार्यकालका लागि निर्वाचनमा जान पाउँदिन । साँच्चै, मलाई लाग्छ, म एउटा असल अमेरिकी राष्ट्रपति हुँ । यदी म चुनावमा उठेँ भने मेरो जीत पक्का छ तर, म चुनावमा उठ्न सक्दिन,” राष्ट्रपति ओबामाले अमेरिकी प्रजातान्त्रिक अभ्यासलाई व्याख्या गर्दै भन्नुभयो ।

अफ्रिकाको आर्थिक विकासलाई केही कुराले पनि छेक्न सक्दैन भन्दै अर्थतन्त्रको विकास भ्रष्टाचारको रोग नियन्त्रणभन्दा पनि आवश्यक छ । यहाँ ब्याप्त असमानता र महिला तथा बालबालिकामाथि हुने लैङ्गिक हिंसा अन्त्य हुनु पनि जरुरी छ, उहाँले भन्नुभयो ।

बुरुन्डीका राष्ट्रपति पिएरो कुरुन्जिजाको सत्तालिप्साका कारण भएको हप्तौँ लामो आन्दोलनलाई सङ्केत गर्दै ओबामाले भन्नुभयो, पिएरोको सत्तामा रहिरहने इच्छाका कारण सानो अफ्रिकी राष्ट्रमा अशान्ति तथा अस्थिरता उत्पन्न भएको छ ।

अफ्रिकी युनियनलाई सम्बोधन गर्दै उहाँले आफ्नो राष्ट्र अफ्रिकामा ब्याप्त आतङ्कवाद र द्वन्द्वलाई नामेट पार्दै उक्त महादेशमा शान्ति तथा सुरक्षाको प्रत्याभूति गराउन अमेरिका सधैँ अफ्रिकासँग रहने प्रतिबद्धतासमेत उक्त अवसरमो जनाउनुभयो ।

सोमालियाको सेबाब, नाइजेरियाको बोको हराम, माली र ट्युनिसियाको विद्रोह, युगान्डाको सैन्य विद्रोह दक्षिण अफ्रिकाका लागि चुनौती रहेको बताउनुभयो ।

अमेरिका सधैँ अफ्रिकी युनियनको सैन्य प्रयासलाई सहयोग गर्नेछ भन्दै भन्नुभयो, ‘बहादुर अफ्रिकी शान्ति सेना’ लाई अमेरिका सम्मान गर्छ ।

धेरै मुसलमान समूहले धर्मको झण्डा बोकिरहेको बताउँदै भन्नुभयो सयौँ लाख अफ्रिकी मुसलमानलाई इस्लाम भनेको शान्ति हो भन्ने थाहा छ ।

उहाँले अलकायदा, इस्लामिक स्टेट, अल सेबाब, बोको हरामलाई ‘हत्यारा’ भन्नु पर्छ भन्दै शान्ति यात्रामा सामेल नहुञ्जेल यी समूहविरुद्ध सधैँ लड्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । रासस/एएफपी