३० आश्विन २०८३, शुक्रबार

प्रधानमन्त्रीज्यू ! देश टुक्राउँछु भन्ने अमरेश काँग्रेसका को हुन ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

AMRESH-KUMAR_

देशमा दलीय व्यवस्था छ । दलीय व्यवस्थामा दल प्रधान रहन्छ । व्यक्तिले दल चलाउने होइन्, दलको नीतिमा दलमा आबद्ध व्यक्ति परिचालित हुनुपर्दछ । यदि आफूलाई चित्त नबुझ्ने कुरालाई दलको नीतिगत तहबाटै निर्णय गराउन सामथ्र्य राख्नुपर्दछ, होइन भने कम्तीमा त्यसलाई दल भित्रैवाट अभियानको थालनी गनुपर्दछ । यदि त्यो सम्भव नहुने लाग्छ भने त्यो दल छोड्नु नै बुद्दिमानी ठहर्छ । तर दलको निर्णय बिपरित व्यक्तिगत टिकाटिप्पणी दलीय पद्दतिमा सही ठहरिने सक्दैन । अझ त्यसमा पनि दुरगामी प्रभाव राख्ने निर्णयमा आफूलाई त्यसको विपरित खेमामा उभ्याउनु दलीय प्रणाली भित्रको एउटा बिष वृक्ष बाहेक अरु हुन सक्दैन ।

अहिले देश दुरगामी चरणमा प्रवेशको घडीमा उभिएको छ । देशमा संविधान निर्माणको कार्य अघि बढेको छ । संविधान निर्माणको निम्ति मार्ग प्रशस्त गर्ने क्रममा नेपाली काँग्रेस, नेकपा एमाले, एकिकृत नेकपा माओवादी तथा विजय गच्छदार नेतृत्वको मधेशी मोर्चाबीच १६ बुँदे सहमति भएको थियो । त्यही सहमति अनुरुप संविधान निर्माणले गति लिइरहेको छ । यसप्रति १६ बुँदे सहमति गर्दा नसमेटिएकाहरुको स्वभावतः असहमति हुनुलाई अन्यथा लिइरहनुपर्दैन । तर सहमति गर्दाकै दलका नेताको अभिव्यक्ति यसको विपरित हुनुलाई स्वभाविक लिन सकिदैंन । देशको दिर्घकालिन महत्वको यस चरणमा आफ्ना सकारात्मक बिचार व्यक्त गर्नु, सुझाव राख्नुलाई सही मानिएपनि देशलाई नै टुक्राउने धम्कीपूर्ण अभिव्यक्ति किमार्थ सैह्य हुन सक्दैन । देशको नागरिकले देश टुक्राउँछु भन्नु देश प्रतिकै बेइमानी हो । अर्कोकुरा, राजनीतिक समस्या हो भने त्यसको समाधान देशभित्रै खोज्नुको साटो विदेशी शक्तिसँग बिलाउन गर्न जानु सार्वभौमिकताको उपहास वाहेक अरु हुन सक्दैन ।

अहिले अमरेशले देश टुक्राउने धम्की दिन पनि भ्याएका छन् । देशको नागरिकले देशको अस्मिताबिरुद्ध बोल्नु पनि राजद्रोह हुन्छ भने संविधान बनाउने सभासद्को त्यो व्यवहार के सामान्य होला त ? कांग्रेसका अन्य शिर्ष नेता भन्दा पनि आफूलाई माथि राख्ने अमरेश को हुन् ? आखिर किन सरकार मौन छ ? किन कांग्रेस नेतृत्व मौन छ ?

देशभित्रको समस्या देशभित्रवाटै खोजिनुपर्छ । देशमा अहिले संविधानको बहस भैरहँदा यसप्रति बिमति राख्ने नाममा धम्की पूर्ण रुपमा देश टुक्राउने भाषणवाजीको कुनै अर्थ छैन । गत संविधानसभाको चुनावले जनमतलाई उजागर गरिदिएको छ । तर जनमत छ भनेर पेलेर जाने हुर्मत भने कदापि हुन हुँदैन । तराई सबैको हो, पहाड सबैको हो अनि हिमाल सबैको हो भन्ने हेक्का आम नेपालीमा हुनुपर्दछ । जनतालाई थाहा छ– नेपाल हिमाल, पहाड र तराईको संगम हो । केही स्वार्थी नेतालाई लाग्दो होला, तराई–मधेश भनेको हाम्रो मात्र हो,, अनि यहाँका जनता हाम्रा हुन् भन्ने त्यो दिवास्वप्न बाहेक अरु हुन सक्दैन । यो विषयमा अझ बढी बहस हुन सक्ला । तर, यो लेखमा भने दलीय प्रणालीमा विचार विग्रहका वारेमा धारणा समेट्न खोजेको छु ।

अहिले देशको राज्यसत्ता नेपाली कांग्रेसको नेतृत्वमा छ । नेपाली काँग्रेसका सभापनि सुशील कोइरालाले आफ्नै नेतृत्वको सरकार रहेका बेला संविधान बनाउन चाहेको स्पष्ट पारेसँगै १६ बुँदे सहमतिसहित संविधान निर्माणको काम अघि बढेको छ । तर बिडम्वना, सरकारको नेतृत्व गरिरहेको कांग्रेस, पहिलो पार्टीको हिसाबले संविधान निर्माणलाई गति दिलाउने जिम्मेवारी कांग्रेसकै एक नेता भने देश टुक्राउने अभिव्यक्ति दिन कत्ति पनि हिनताबोध गरिरहेका छैनन् । कांग्रेसकै सभासद् भएर कांग्रेसकै नीतिबिरुद्ध संविधानसभा र संसद वैठकमा प्रस्तुत हुनु, उसको नीतिकै खण्डन गरिरहेका छन् । लाग्छ– उनको त्यो दैनिकी हो । अझ भनौं, यस्तो लाग्छ– कांग्रेसले उनलाई पार्टी भित्रको प्रतिपक्षको कित्तामा राखेको छ । संसदमा प्रतिपक्ष हुन्छ तर कांग्रेसमा भने एक जना नेता ठीक त्यसैगरी प्रतिपक्षमा छन् उनी हुन् अमरेशकुमार सिंह ।

Suraj-Bhandari
– सुरज भण्डारी

बर्षौ संगठन निर्माणमा खर्चिएकाहरु नअटाएको संविधानसभामा अटेका उनी, कांग्रेसजनमा एउटा बिचित्रको पात्र भएका छन् । कांग्रेसका सदस्य हुन् भने हरेक विषयमा कांग्रेसकै विपक्षमा देखिन्छन् उनी । यदि कांग्रेसका सदस्य होइनन् भनौं भने कांग्रेसकै तर्फबाट ६ सय १ जना भित्र अटेका छन् । कांग्रेसको विपक्षमा आफूलाई प्रस्तुत गर्नु उनको अब स्वभाव नै देखिन्छ । अझ त्यो भन्दा माथि उठेर अहिले त अमरेशले देश टुक्राउने धम्की दिन पनि भ्याएका छन् । देशको नागरिकले देशको अस्मिताबिरुद्ध बोल्नु पनि राजद्रोह हुन्छ भने संविधान बनाउने सभासद्को त्यो व्यवहार के सामान्य होला त ? देशको हरेक सहमति निर्माणदेखि लिएर हरेक मुद्दामा आफ्नो सहभागिता जरुरी रहने भनी खुल्लम खुल्ला अभिव्यक्ति दिने अमरेश खास पार्टीका कुन हैसियतका नेता हुन् त्यो जबाफ अव कांग्रेस नेतृत्वले दिनुपर्दछ । राज्यको नेतृत्व गरेको हिसावले समेत अब कांग्रेस सभापति सुशील कोइरालाले त्यो जवाफ जनतालाई दिनुपर्दछ अनि कांग्रेसका अन्य शिर्ष नेता भन्दा पनि आफूलाई माथि राख्ने अमरेश को हुन् पार्टीमा उनको योगदान के छ, उनले पार्टीको संगठन निर्माणमा के योगदान गरेका छन् त्यसको बेलिबिस्तार समेत कांग्रेसजनमा राख्नु आवश्यक छ । आखिर किन सरकार मौन छ ? आखिर किन कांग्रेस नेतृत्व मौन छ ? किन अमरेश झन् झन् आफूलाई बलवान ठान्ने कुचेष्टा गर्न खोजेका छन् ?

अभिव्यक्ति स्वतन्त्रता आवश्यक छ तर लोकतन्त्रको नाममा छाडातन्त्र कदापि स्वीकार्य हुन सक्दैन । हुनतः देश टुक्राउने धम्की दिदैंमा नेपाली जनता त्यति लाटा छैनन् अब जसको आधार नै छैन त्यसको पछि लाग्ने । जनताले बुझि सकेका छन् देशमा सवै अटेका छन् यसैगरी अट्नेछन् । तर पनि मुख्य कुरा के अब दलीय पद्दति कमजोर हुँदै गएको हो, यदि हो भने अब वन्ने संविधानमा किन वहुदलिय व्यवस्था राख्ने ? अझ भनौं किन कांग्रेसले संसदवाट निर्वाचित प्रधानमन्त्रीको पक्षमा आफूलाई उभ्याउने ?