४ कार्तिक २०८३, बुधबार

नक्कली श्रम स्वीकृत निकाल्ने ४७ म्यानपावरको अनुसन्धान अन्तिम चरणमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

baidesik-rojgar-bivagकाठमाडौं, १२ साउन । नक्कली कागजात प्रयोग गरेर श्रम स्वीकृत निकाल्ने म्यानपावरको अनुसन्धान अन्तिम चरणमा पुगेको वैदेशिक रोजगार विभागले जनाएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले असार १८ मा ४७ म्यानपावर कम्पनीले नक्कली कागजात प्रयोग गरेर श्रम स्वीकृत निकालेको भन्दै उक्त म्यानपावरलाई तत्काल कडा कारबाही गर्न विभागलाई निर्देशन दिएको समाचार सौर्य दैनिकले छापेको छ ।

नक्कली कागजातका आधारमा नेपाली कामदार विदेश पठाउन खोजेको भन्दै कारबाहीका लागि विभागलाई निर्देशन दिएको आयोगका प्रवक्ता कृष्णहरि पुष्करले बताए ।

आयोगले ४७ म्यानपावर कम्पनीलाई अनुसन्धान गरी कारबाही गर्न निर्देशन दिए पनि विभागले जुन रूपमा हुनुपर्ने हो सो रूपमा हुन नसकेकेको विभाग स्रोतको भनाइ छ ।

४७ म्यानपावरको अनुसन्धान गर्न सात जना कानुन अधिकृतलाई जिम्मेवारी तोकिएको विभागका उजुरी तथा अनुसन्धान शाखाका निर्देशक उमाकान्त पौडेलले बताए ।

निर्देशक पौडेलले अनुसन्धान अन्तिम चरणमा पुगेको र अनुसन्धानका लागि आवश्यक केही कागजात सम्बन्धित दूतावासबाट मगाउने काम भइरहेको बताए ।

अध्ययन भइरहेको र हालसम्म पाइएको प्रमाण हेर्दा व्यवसायीले जानाजान गल्ती गरेको पाइएको अनुसन्धानमा संलग्न अर्का एक अधिकारीको भनाइ छ ।

अनुसन्धानपछि आवश्यक कागजात संलग्न गरेर बयान लिने र गल्तीका आधारमा वैदेशिक रोजगार ऐन २०६४ बमोजिम कारबाही हुने अनुसन्धानमा संलग्न अधिकारीको भनाइ छ ।

ऐनमा तीन वर्ष जेल सजाय वा पाँच लाख रुपैयाँसम्म जरिवाना तोक्न सक्ने प्रावधान उल्लेख छ । विभागका महानिर्देशकको निर्णयबाट पाँच लाख रुपैयाँसम्म जरिवाना तोके पनि जेल सजाय तोक्ने अधिकार ऐनमा उल्लेख छैन ।

जेल सजायका लागि विभागले म्यानपावरविरुद्ध वैदेशिक रोजगार न्यायाधीकरणमा मुद्दा दायर गर्नुपर्छ । बयानपछि कारबाहीका लागि वैदेशिक रोजगार न्यायाधीकरण निर्णयार्थ पठाउने स्रोतको भनाइ छ ।

अख्तियारले अनुसन्धानका लागि निर्देशन दिएका म्यानपावरमध्ये केहीले एजेन्टलाई पैसा खुवाएर मलेसियाको सक्कली मागपत्रलाई परिवर्तन गर्दै स्वदेशमा मागपत्र बनाउने गरेको अख्तियारले जनाएको छ ।

विभागले हालका लागि ४७ म्यानपावरको कारोबार रोक्का गरेर अनुसन्धान भइरहेको बताइएको छ । तर, अन्य कारबाही के गर्ने भन्नेमा कुनै निर्णय गरेको छैन ।

यसका अलावा विभागले एक सय दुई म्यानपावरमाथि अनुसन्धान थालको छ । उक्त म्यानपावरका विषयमा श्रम तथा रोजगार मन्त्रालय र परराष्ट्र मन्त्रालयमा समेत जानकारी गराएको प्रवक्ता पुष्करले बताए ।