४ कार्तिक २०८३, बुधबार

पत्रकारको घेरामा प्रचण्ड

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

1-page-ankarकाठमाडौं, १२ साउन । लाजिम्पाटको रातो बंगलाको विशेषता हो, त्यहाँ प्रचण्ड बस्छन् । त्यसैले त्यसवरिपरि मान्छे झुम्मिनु स्वाभाविक हो ।

गेटमा निलो सुटमा बसेका सुरक्षाकर्मीहरूले गेटबाट नसोधी छिर्न नदिनु पनि स्वाभाविक हो ।

पूर्वप्रधानमन्त्री तथा प्रमुख प्रतिपक्षी दलका नेता एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास छिर्नु त्यति सहज छैन तर अति नै कठिन पनि होइन । आजको सौर्य दैनिकले समाचार छापेको छ ।

प्रचण्डको बिहान, दिउँसो र राती व्यस्तताले भरिएको छ । उनी कपडा लगाउनका लागि पनि फुर्सदिला हुँदैनन्, प्रायः । तर, दैलोमा आएका हर कोहीलाई भेट दिन पनि चुक्दैनन् ।

सोमबार पत्रकारहरू उनको दैलोमा पर्खिनुअघि केही साहित्कारसँग व्यस्त थिए उनी, अनौपचारिक ।

त्यसअघि आफ्नै पार्टीका केही सल्लाहकारसँग पनि व्यस्त थिए । यद्यपि, उनले पत्रकार सम्मेलनमा आफ्नो उपस्थितिलाई बलियो हुनेगरी प्रस्तुति दिए ।

प्रचण्ड बिहानैदेखि व्यस्त हुन्छन् । उनको समयलाई पर्खिनु मात्र पर्छ, उनले भेट दिन्छन् । बिहान ट्र्याकसुट लगाएदेखि नै निवासमा आएका मान्छेहरू भेटेर कुरा गर्दा नै उनको बिहान बित्छ ।

पर्खिँदै गरेका मान्छेलाई ‘ग्रिन टी’ले स्वागत गर्ने लाजिम्पाटको सत्कार बडो रमाइलो पनि हुन्छ । ‘ढिलो भइसक्यो, ट्र्याकसुटमा छु म सटपाइन्ट लगाएर झरिहाल्छु है,’ प्रचण्डले समय दिएका पत्रकारहरूलाई सन्देश पठाए । केहीबेरको पर्खाइपछि उनी उत्रिए, रातो घरको आँगनमा तयार गरिएको पत्रकार सम्मेलनको रातो कुर्सीमा बस्नुअघि उनले सबैलाई नै नमस्कार ठोके ।

लाजिम्पाटको संयोग भन्नुपर्छ, प्रचण्डलाई भेट्न पुगेका हरकोहीले रातो कुर्सीमा पर्खिनुपर्छ, रातो चिया पिउनुपर्छ र रातो गाडी हेर्नुपर्छ ।

प्रचण्डले रातो झन्डालाई मात्र मुलुकमा स्थापित गराएनन्, उनका धेरै कुराहरूको संयोग रातोमा टुंंगिन्छ । जबकि, उनकै पार्टीका सल्लाहकार रामनारायण बिँडारी पनि उनलाई भेट्न रातो गाडीमा पुग्छन् ।

पत्रकारहरूसँग अति नै सामीप्य हुने प्रचण्ड केही कुराप्रति उदेक हुन्छन् । ‘भारतमा म सद्भाव लिन गएकै हो त्यसपछि यहाँ आएर मधेसी दलका नेताहरूलाई पनि भेटेको हो ।

तर, मिडियामा प्रचार अलग हिसाबले हुन्छ । म जानुअघि पनि मधेसी नेताहरूलाई भेटेर गएको थिएँ त्यतिबेला चर्चा भएन,’ हँसिलो मुद्रामा प्रचण्डले भने, ‘यसरी अलिक अतिरञ्जित गर्दिनु भएन, मिडियाका साथीहरूलाई मेरो आग्रह हो ।’