काठमाडौं, ११ साउन । भारतका पूर्व राष्ट्रपति डा. एपीजे अब्दुल कलामको ८३ वर्षको उमेरमा सोमबार राति निधन भएको छ ।
मिसाइल म्यानको नामबाट परिचित अब्दुल कलामको लिवेबल प्लेनेट अर्थबारे आईआईएममा आयोजित कार्यक्रममा बोल्दाबोल्दै शिलोङमा निधन भएको समाचार एजेन्सी पीटीआईले जनाएको छ ।
त्यो कार्यक्रममा भाषण गर्दा गर्दै उनी लडेका थिए । गम्भीर घाइते भएका उनलाई अस्पताल लगिएको थियो । तर, उनको त्यहाँ मृत्यु भएको हो । अब्दुल कलाम भारतका चर्चित बैज्ञानिक समेत हुन् । २००२ देखि २००७ सम्म भारतका राष्ट्रपति भएका उनले कार्यकाल सकिएपछि अध्यापनको काम गरेका थिए ।
कलामको निधनप्रति भारतीय गृहमन्त्री राजनाथ सिंहले दु:ख व्यक्त गरेका छ्न् । त्यस्तै, दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले ट्वीट गर्दै डाक्टर एपीजे अब्दुल कलामको निधनले देशले एक असली भारत रत्न गुमाएको प्रतिक्रिया दिएका छन् ।
भारतका एघारौं राष्ट्रपति कलामको जन्म १५ अक्टोबर १९३१ मा भारतकै रामेश्वरममा भएको थियो । भारतलार्इ परमाणु शक्ति सम्पन्न बनाउन उनको महत्वपूर्ण योगदान थियो । कलामको निधनपछि भारत सरकारले सात दिन राष्ट्रिय शोकको घोषणा गरेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।
















प्रतिक्रिया