३० आश्विन २०८३, शुक्रबार

धनगढी विमानस्थलका लागि जग्गा अधिग्रहणको काम अन्तिम चरणमा

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

dhangadi-airportधनगढी, ११ साउन । धनगढी विमानस्थलको स्तरोन्नति गर्ने उद्देश्यले सुरु गरिएको जग्गा अधिग्रहणको काम अन्तिम चरणमा पुगेको छ ।

स्तरोन्नतिका लागि विमानस्थलको पूर्वतर्फको १४ कट्ठा १५ धुर जग्गा अधिग्रहणको काम अन्तिम चरणमा पुगेको विमानस्थल कार्यालयका प्रमुख राजेन्द्रसिं नायकले बताउनुभयो ।

अधिग्रहण गर्दा मुअब्जाबापत दिनुपर्ने करिब रु तीन करोेड ७८ लाख निकासा भई सम्बन्धित जग्गा धनीहरुलाई प्रदान गरिसकिएको बताइएको छ ।

विसं २०६४ देखि जग्गाधनीहरुसँग वार्ता प्रक्रियाबाट गरिएको प्रयास सफल हुन नसकेपछि जग्गा प्राप्ति ऐन, २०३४ अनुसार जग्गा अधिग्रहणको काम हालै अघि बढाइएको हो ।

विमानस्थललाई दिइने जग्गाको बढी मोलमोलाई गर्ने गरेका कारण वार्ता प्रक्रियाबाट जग्गा लिन गरिएको प्रयास सफल हुन नसक्दा विमानस्थलको स्तरोन्नतिका लागि बर्सेनि छुट्याइने बजेट रकम पनि खर्च हुन नसकेर ‘फ्रिज’ हुने गरेको थियो ।

जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले विमानस्थल स्तरोन्नतिका लागि भिओआरडिएमई नामको उपकरण जडानमा सहयोग गर्न लागेको बताइएको छ । ‘यो उपकरण जडान गर्न जाइकाको टोली उपयुक्त हुने जग्गा छुट्याएर गएको छ, नायकले भन्नुभयो – यसका लागि थप दुई बिगाहा जग्गा अधिग्रहण गर्नुपर्ने देखिएको छ ।”

उपकरण जडान भएपछि विमानस्थलमा जहाज रात्रिकालीन समयमा पनि उडान तथा अवतरण गर्न सकिने मात्र होइन कम ‘भिजिविलिटी’मा समेत उडान भर्न सकिने बताइन्छ ।

जग्गा अधिग्रहण हुन नसक्दा जहाजको एप्रोन एरिया (बिसौनी)को विस्तार हुन नसकेको, कम भिजिविलिटीमा उडान गर्न र रातिको समयमा पनि उडान गर्न सकिने उपकरणहरुको जडानका लागि ठाउँको अभाव भएको, एप्रोच लाइट जडानलगायतका स्तरोन्नतिका योजना अगाडि बढ्न सकेको थिएन ।

ठूलो धावनमार्गका दृष्टिमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलपछिको देशकै दोस्रो ठूलो धनगढी विमानस्थललाई क्षेत्रीय विमानस्थल बनाउने लक्ष्य लिइएको छ ।

दैनिक हवाई सेवाको सुविधा प्राप्त सुदूरपश्चिमको एकमात्र यो विमानस्थलबाट हाल निजी क्षेत्रको बुद्ध एयरले दैनिक र यति एयरलायन्सले हप्तामा तीन दिन हवाई सेवा सञ्चालन गरिरहेको छ ।

नेपाल वायुसेवा निगमले हप्तामा दुई दिन काठमाडौँ–धनगढी–काठमाडौँ हवाई सेवा सञ्चालन गर्ने गरेकामा जहाजको अभावमा हाल हवाई सेवा नियमित हुन सकेको छैन । रासस