४ कार्तिक २०८३, बुधबार

राजधानीमा चर्किएका अपार्टमेन्टवरिपरि खतरा यथावत, सरकार मौन

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

aparmnetकाठमाडौं, ११ साउन । महाभूकम्पले व्यापारिक प्रायोजनका लागि काठमाडौंमा बनाइएका अपार्टमेन्टहरू चर्किएपछि अपार्टमेन्ट वरिपरिका सर्वसाधरण त्रसित छन् ।

ठूला आकाशे भवन आसपास बनेका सानासाना घरका बासिन्दा अझै त्रसित रहेको समाचार सौर्य दैनिकले छापेको छ ।

काठमाडौंका विभिन्न स्थानमा बनाइएका यस्ता अपार्टमेन्टमध्ये कालिकास्थानमा रहेको सिल्भर अपार्टमेन्ट छेउछाउ बस्दै आएका सर्वसाधारण त्रसित छन् । एक वृद्धाले भनिन्, ‘ठूलै लगानीमा बनाइएका यी घर अहिले धराप छन् । हामीलाई कुन दिन किच्ने हो डरमर्दो छ ।’

नेपाल सरकारको सहरी विकास मन्त्रालयले काठमाडौंका अधिकांश अर्पाटमेन्टमा रातो स्टिकर टाँसेर बस्न नहुने घोषणा गरेसँगै ठूला घर आसपासमा बनेका सर्वसाधरण नागरिक चिन्तित छन् ।

आफ्नो ज्यान जोखिममा रहेकाले उनीहरूले सरकारसँग चाँडै ती घरहरू हटाउन माग गरेर निवेदन पेस गरेको जनाएका छन् । तर, हालसम्म भत्काउने सुरसार नहँदा वर्षाको समयमा आफ्नो घर छाडेर शरणार्थीजस्तै बस्नुपर्ने बाध्यता रहेको पीडितले बताए ।

फुटेर चिराचिरा परेको सिल्भर अपार्टमेन्ट देखाउँदै एक स्थानीयले भने, ‘भूकम्पबाट बाँचियो जस्तो लागेको छ । तर, कुन दिन यो घर लडेर किच्ने हो भन्ने पिरले बाहिरै वास बसिरहेका छौँ । भत्काउन भनेका छौँ ।’

अपार्टमेन्ट व्यवसायीले भने आफ्नो लगानी डुब्ने डरले ती भवन भत्काएका छैनन् । ‘अपार्टमेन्ट पूरै ध्वजा फाटेको छ । बस्न सकिने कुनै भाग छैन् । तर, ती कम्पनीका मालिक चुपचाप रहेका छन् । उनले त अझ मर्मत गर्न मान्छे पो लगाउन थाले हामीले भत्काउनुपर्छ भनेर निवेदन हालेका थियौँ,’ वृद्धले भने ।

सिल्भर अर्पाटमेन्टका मालिक दीपक मरहठ्ठा गृहमन्त्री वामदेव गौतमका ‘बिजनेस पार्टनर’ भएकाले रातो स्टिकर लगएको भवनलाई तत्काल हरियो स्टिकर टाँस्न लगाएको स्थानीयले आरोप लगाएका छन् ।

त्यसैगरी, वसुन्धरास्थित होरिजन अर्पाटमेन्ट वरिपरिका साना घरधनीले त माग पत्र नै झुन्डाएर आन्दोलनमा उत्रने चेतावनी दिएका छन् । उनीहरूले विभिन्न माग राखेर सरकारलाई ज्ञापनपत्रसमेत बुझाइसकेका छन् ।