महोत्तरी, ९ साउन । महोत्तरीको सदरमुकाम जलेश्वरमा संयुक्त सङ्घर्ष समितिले मालपोतको मोठ स्रेस्ता फिर्ता र दोषीलाई कारबाहीको माग राख्दै गत तीन दिनदेखि गर्दै आएको आमहडताल आजदेखि फिर्ता लिएको छ । आज जिल्ला विकास समितिको सभाहलमा बसेको बैठकले मालपोत कार्यालयको प्रमुखलाई कारबाही गर्नेलगायतका तीन बुँदे सहमति जनाएपछि सदरमुकाम जलेश्वरमा जारी आमहडताल फिर्ता भएको हो ।
बन्द खोलाउनका लागि सुरक्षा निकाय र जिल्ला प्रशासनसमक्ष भएको बैठकमा ताल्चा फोरेर मोठ र स्रेस्ता लग्ने मालपोतका तत्कालीन प्रमुख गङ्गाबहादुर घलेलाई कारबाही गर्न भूमि सुधार विभागलाई सिफारिस गर्ने, जिल्लास्थित मालपोत र नापी कार्यालयको सबै कागजात हाललाई यथास्थानमा राख्ने र जिल्लास्तरीय सरोकारवाला निकाय राजनीतिक दललगायतको बैठक गराई सोबाट आएको निकास सर्वमान्य हुने निर्णय भएको हो ।
बैठकमा महोत्तरीको प्रमुख जिल्ला अधिकारी दीपक काफ्ले, प्रहरी उपरीक्षक शौरभ राणा, सशस्त्र प्रहरी उपरीक्षक धीरेन्द्र राय, राष्ट्रिय अनुसन्धान प्रमुख नगेन्द्रप्रसाद दाहाल, उद्योग वाणिज्य सङ्घका अध्यक्ष कृपाशङ्कर साह, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
उद्योगी व्यवसायीहरुले मालपोत कार्यालयमा चोरीशैलीमा गायब पारिएका कागजात फिर्ता ल्याई मालपोत कार्यालय सञ्चालन गर्नुपर्ने, मोठ स्रेस्ता गायब गर्ने कार्यमा संलग्नहरुमाथि कारबाही गर्नुपर्ने तथा नापी कार्यालयमा रहेको कागजात पनि लगिने प्रयास भइरहेकाले त्यो कार्य रोकिनुपर्ने माग राख्दै आन्दोलन गर्दै आएका थिए । रासस















प्रतिक्रिया