– डम्मर राज भट्ट
महेन्द्रनगर ७ साउन । दलालले इराक पठाईदिने भन्दै काठमाडौंदेखि दिल्ली लैजान लागेको अवस्थामा पाँच जना भूकम्पपीडिहरुको उद्धार गरिएको छ ।
माईती नेपाल कञ्चनपुरले आज बिहान पश्चिमी सिमा नाका गड्डाचौकीमा चार महिला सहित एक पुरुषको उद्धार गरेको हो । तीन जना सिन्धुपाल्चोक र दुई जना खोटाङ घरमा भएका भूकम्प पीडितलाई उद्धार गरिएको हो । सिन्धुपाल्चोक मार्मिङकी ३७ बर्षिय पासाङ्गमु तामाङ, भोटेनाम्माङ्ग ५ की ३८ बर्षिय निमा शेर्पा, राम्के गाविस ३ की ३२ बर्षिय सविता तामाङ्ग र खोटाङ्ग माम्पा ६ की ४१ वर्षिय उमा तामाङ्ग र सोही गाविसका १८ वर्षिय अशोक राईलाई उद्धार गरि माईती नेपाल कञ्चनपुरमा राखिएको छ ।
माईती नेपाल कञ्चनपुरकी संयोजक महेश्वरी भट्टले काठमाडौंदेखि दिल्लीका लागि छुटेको बसमा चेकचाँच गर्ने क्रममा उनीहरुलाई दलालले रोजगारी दिने भन्दै इराक पठाईरहेको अवस्थामा उद्धार गरेको जानकारी दिनुभयो ।
‘बस चेकचाँजका क्र्ममा उनीहरुले इराक जान लागेको भनेपछि तत्कालै नियन्त्रणमा लियौं’ उहाँले भन्नुभयो,‘उद्धार गरिएकाहरुको घरमा सोधपुछ गर्दा बैदेशिक रोजगारका लागि इराक जान लागेको भनेपछि थप सोधपुछका लागि माईती नेपालमा ल्यायौं ।’
उद्दार गरिएका पाँचै जनालाई एकदुई दिनभित्रै घर फर्काईने संयोजक भट्टले बताउनुभयो । बिना पासपोर्ट दिल्लीको बाटो भएर बिदेश पठाउने बहाना बनाएकाले उनीहरु बेच्ने उद्देश्यले दलालले यस्तो योजना बनाएको संयोजक भट्टको अनुमान छ । उनीहरुले भने आफूहरु रोजगार गर्न हिमाञ्चल जान लागेको बताएका छन् ।
















प्रतिक्रिया