भीमदत्तनगर, ७ साउन । महाकाली नदीमा तीनवटा पुल निर्माणको प्रक्रिया अघि बढेको छ ।
बैतडीको झुलाघाटसहित दार्चुलामा मोटर पुल तथा डडेल्धुरामा झोलुङ्गे पुल निर्माण हुन लागेको हो ।
पुल निर्माणका लागि नेपाल र भारतबीच भएको सम्झौताअनुसार तीनवटै जिल्लामा बन्ने पुलको सम्भाव्यता अध्ययन, विस्तृत सर्वेक्षण तथा डिजाइन र निर्माण कार्यका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, गुणस्तर तथा वैदेशिक सहायता महाशाखाले अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखालाई स्वीकृति पत्र पठाएको बैतडी क्षेत्र नं २ का सभासद् नरबहादुर चन्दले बताउनुभयो ।
दुई सय २० मिटर लम्बाइ रहेको बैतडीको झुलाघाट सीमानाकामा बन्न लागेको मोटर पुलको लागत अनुमान सडक विभागले रु २८ करोड २० लाख गरेको छ ।
यस्तै, दार्चुलामा निर्माण हुने १५० मिटर लम्बाइ रहेको पुलका लागि लागत स्टमेट रु १९ करोड ५० लाख रहेको छ भने डडेल्धुरामा निर्माण हुने झोलुङ्गे पुलका लागि ठाउँ यकिन नभएको जानकारीमा आएको सभासद् चन्दले बताउनुभयो ।
महाकालीमा मोटर चल्ने पुल निर्माणसँगै यस क्षेत्रको व्यावसायिक औद्योगिक क्षेत्रको विकास हुने अपेक्षा लिइएको छ । यस क्षेत्रका हजारौँ नागरिकलाई भारतीय बजारमा सहजरुपमा आवतजावत गर्न र कृषि उत्पादनको बजारीकरण गर्न सहज हुने उहाँको भनाइ छ । रासस
















प्रतिक्रिया