३० आश्विन २०८३, शुक्रबार

नवीकरणीय ऊर्जाको नाममा सोह्र लाख पचहत्तर हजार रकम उठाई फरार

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

nepali-currency Paisaडोल्पा (त्रिपुराकोट), ६ साउन । जुम्ला जिल्लास्थित धारगाउँ गाविस उर्थुचौताराका विष्णुचन्द्र विष्ट नवीकरणीय ऊर्जाका नाममा रु १६ लाख ७५ हजार रकम ठगी गरी फरार भएका छन् ।

विष्टले ३० प्रतिशत अनुदान सहयोगमा सुधारिएको चुलो, सोलार ल्याइदिने भन्दै रकम उठाई आठ महिनाअघिदेखि फरार भएको त्रिपुराकोटकी स्थानीयवासी सुस्मा उपाध्यायले बताउनुभयो ।

चारवटा गाविसका सर्वसाधारणलाई सस्तो मूल्यमा सुधारिएको चुलो र २५ वाटको सोलार उपलब्ध गराउने भनी झुक्याउँदै मोटो रकम उठाएको गुनासो त्रिपुराकोटका स्थानीयवासी रविप्रसाद न्यौपानेले गर्नुभयो ।

त्रिपुराकोट गाविसस्थित वडा नं २ बगरमा नवीकरणीय ऊर्जा नामक संंस्थाको कार्यालय स्थापना गरेर सुरुमा डोल्पा आएका उनी गत मङ्सिरदेखि सम्पर्कविहीन भएको समेत उहाँले बताउनुभयो ।

विष्ट सुधारिएको चुलो र सोलार ढुवानी गर्न नेपालगन्ज जान्छु भन्दै गएको केही दिनमै सम्पर्कविहीन भएको उहाँले बताउनुभयो ।

सोलार र सुधारिएको चुलो खरिदका लागि प्रतिघर सात हजारदेखि १५ हजारसम्म पेस्की रकम उठाएको सर्वसाधारणले बताएका छन् ।

त्यस्तै सोही संस्थामार्फत त्रिपुराकोट, पहाडा, सु र लिकु गाविसमा सुधारिएको चुलो र सोलार ल्याउने भन्दै रु १६ लाख ७५ हजार पेस्की रकम उठाएर छ महिनादेखि फरार भएको सु गाविसका खेम बोहोराले बताउनुभयो ।

सुरुमा आफ्नो संस्थामार्फत कम अनुदानमा सोलार र सुधारिएको चुलो वितरण गर्ने भन्दै गाउँलेबाट पेस्की रकम उठाई बाँकी रकम सामान पुगिसकेपछि दिने सर्तमा सामान खरिदका लागि गएका उनी अहिले एक्कासि सम्पर्कविहीन भएको जानकारी आएकोसमेत उहाँले बताउनुभयो ।

आफूहरुलाई गाउँ गाउँमा रकम सङ्कलन गर्न पठाएको र चारवटा गाविसका विभिन्न गाउँबाट रु १६ लाख ७५ रकम उठाएको कर्मचारी पूर्ण हमालले बताउनुभयो ।

सो रकम लिएर चुलो, सोलार ल्याउन गएको चारदिनमै उनी सम्पर्कविहीन भएको उहाँले बताउनुभयो । आफूहरुले उक्त संस्थामा तीन महिना काम गरेको ३० हजार पारिश्रमिकसमेत नदिएको उहाँले गुनासो गर्नुभयो ।

विसं २०७१ को दसैँभित्र चुलो र सोलार उपलब्ध गराउने भनी सर्वसाधारणबाट रकम उठाए तापनि अहिले एक वर्ष बितिसक्दा पनि चुलो सोलार नपाएको लिकु गाविसका स्थानीयवासी लोकेश खत्रीले बताउनुभयो ।

विष्टले विभिन्न गाविसका ५०० भन्दा धेरै सर्वसाधारणलाई ठगी गरेको आरोपमा जिल्ला प्रशासन कार्यालय डोल्पामा तथा प्रहरी चौकी त्रिपुराकोटमा उजुरी दिएको कर्मचारी पूर्ण हमालले बताउनुभयो । रासस