काठमाडौं, ६ साउन । ०१५ तिरै हो । माघेसंक्रान्तिमा रिडी छेउछाउतिर कालीगण्डकीमा मेला लाग्थ्यो । बिपी पनि त्यो ठूलो मेलामा जानुभयो । तर, नुहाउन लाग्दा उहाँको जिउमा जनै रहेनछ ।
नयाँ पत्रिका दैनिक अगाडि लेख्छ, बाहुनको छोरो, हिन्दूहरूको त्यत्ति ठूलो मेलामा काशीनाथ गौतमहरूले जनै नभए गाह्रो पर्छ भने ।
त्यतिखेर गोरखा परिषद्को धार्मिक प्रचार थियो– कांग्रेस जात, धर्म केही नमान्ने पार्टी हो ।
त्यसैलाई यस्तो आरोप पुष्टि हुन्छ भनेर हतार–हतार काशीनाथ गौतमले जनै लगाइदिए ।
तर, दुई कदम हिँडेपछि बिपीले ‘जुन कुराको मलाई विश्वास नै छैन, देखाउन मात्र जनै लगाउनुहुँदैन’ भनेर जनै खोलामा फालिदिनुभयो ।
कोइराला परिवारमा नियमित पूजापाठ गर्ने कहिल्यै देखिएन । सुशीला कोइरालाले मात्रै पूजापाठ गर्नुहुन्थ्यो । कोइराला परिवारमा अरूहरूको पूजापाठको संस्कृति नै छैन । तर, हिन्दू धर्म नै नमान्ने, मन्दिर नै नजाने भन्ने होइन ।
हिन्दू भन्दैमा अहिले पनि सबैले जनै लगाउँदैनन् । जनै लगाउनैपर्छ भन्ने विश्वास बिपीलाई भएन । विश्वास भएको केही हुन्छ भन्ने लागेको भए लगाउनुहुन्थ्यो, तर विश्वास नहुँदा देखाउन मात्रै हुँदैन भनेर लगाउनुभएन ।
धर्मभन्दा कर्ममा विश्वास गर्नुभयो । बिपीले लेखेअनुसार उहाँका बुबा कृष्णप्रसाद कोइराला धर्मप्रति आस्थावान् हुनुहुन्थ्यो । मोरङमा अहिले भएको काली मन्दिर उहाँले नै स्थापना गर्नुभएको हो ।
विराटनगरको नाम पनि धार्मिक रूपले उहाँहरूले नै राख्नुभएको हो । महाभारत काण्डमा विराट् राजाको राजधानी थियो भन्ने आधारमा ‘विराटनगर’नाम राखिएको भनिन्छ ।
दलितहरूसँग बसेर खान नहुने भन्ने थियो, तर बिपीहरूले यसविरुद्ध लड्नुभयो । २००३ मा राष्ट्रिय कांग्रेस गठन हुँदा एक सदस्य दलित नै राखिएको थियो ।
यस्ता विभेदजन्य संस्कार बिपीहरूले तोड्दै आउनुभएको हो । तर, बिहानैदेखि दुई–तीन घन्टा पूजापाठमा बिताउने, मन्दिर जाने संस्कार बिपी र गिरिजाबाबुमा देखिएन ।
तथापि, परिवारकै नोना, सुशीलाले पूजा गर्दा पनि उनीहरूको भावनालाई दख्खल दिएको पनि देखिएन ।















प्रतिक्रिया