काठमाडौं, ५ साउन । संविधानमा जनताको रायसुझाव संकलन सुरु भएकै दिन सोमबार मुलुकभर स्थिति तनावग्रस्त बनेको छ ।
नेताहरूमाथि आक्रमणको प्रयास भएको छ भने मस्यौदा जलाउने काम पनि भएको समाचार आजको सौर्य दैनिकले छापेको छ ।
सुझाव संकलनका लागि विभिन्न ठाउँमा पुगेका सभासदमाथि आक्रमणको प्रयास हुँदा प्रहरीसँगको झडपमा केही घाइते भएका छन् । सुझाव संकलनका क्षेत्रहरू सोमबार रणसंग्रामजस्तै देखिएका थिए ।
सिरहा संवाददाताका अनुसार क्षेत्र नम्बर ५ को मिर्चैयाको मोहन उच्च माविमा सुझाव संकलनका क्रममा एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि आक्रमण भएको छ । मधेसवादी दलका कार्यकर्तालगायतले कालोझन्डा देखाएर विरोध गरेपछि प्रहरीले नियन्त्रणमा लिँदा भिँडबाट मञ्चमा रहेका प्रचण्डमाथि ढुंगा प्रहार भएको थियो ।
रौतहट संवाददाता विपिन गौतमका अनुसार एमालेका नेता माधवकुमार नेपालसहित सभासद्हरूको टोलीले संविधानको प्रारम्भिक मस्यौदामाथि सुझाव संकलन गर्न लागेको कार्यक्रममा मधेसवादी दलका कार्यकर्ताले ढुंगामुढा गरेपछि आइतबार जिल्ला सदरमुकाम गौरको स्थिति तनावग्रस्त बन्यो ।
सुझाव संकलन कार्यक्रममा अवरोध गरेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले ६ सेल अश्रुग्यास प्रहार गरेको थियो ।
वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री नेपालसहित जिल्लाका अन्य सभासद्हरू, डा वंशीधर मिश्र, रामकुमार भट्टराई, एमाओवादीका सभासद् सत्यनारायण भगतसमेत उपस्थित सुझाव संकलन कार्यक्रममा मधेसवादी दलका कार्यकर्ताले अवरोध गरेका थिए ।
गौर नगरपालिका क्षेत्र तनावग्रस्त बनेको थियो । प्रहरीले नेता नेपालसहित सभासद्हरूलाई नगरपालिकाको हलभित्र सुरक्षा घेरामा राखी सुझाव संकलन कार्यक्रम गरेको थियो ।
बिहान ७ बजेदेखि गौर नगरपालिकाको सभाहलमा सुझाव संकलनको कार्यक्रम राखिएकोमा सभासद्हरू हलभित्र प्रवेश गर्न लाग्दा मधेसवादी दलका कार्यकर्ताहरूले आपू पनि भित्र प्रवेश गर्न पाउनुपर्ने माग राख्दै विवाद गरेपछि झडप सुरु भएको थियो ।
मधेसवादी दलका कार्यकर्तासँगै स्थानीय बासिन्दा पनि विरोधमा सहभागी भएका थिए ।
सभासद्हरूको गाडी र प्रमुख जिल्ला अधिकारी, प्रहरीहरूको गाडीमा प्रर्दशनकारीहरूले ढुंगामुढा प्रहार गरी तोडफोड गरेका थिए ।
सभाहलमा स्थानीयवासीले पनि छिर्न पाउनुपर्ने माग गरिरहेका बेला संघीय सद्भावना पार्टीकी सभासद् डिम्पल झा र सो पार्टीका अध्यक्ष अनिल झाले प्रवेश गर्ने बेलामा सर्वसाधारणसमेत प्रवेश गर्न खोजेका थिए ।
प्रहरीले नेता र सभासद्लाई मात्र हलभित्र प्रवेश गर्न दिई सवंसाधारणलाई प्रवेशमा रोक लगाइएपछि झडप सुरु भएको थियो ।
झडपपछि घटनास्थलमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो भने वरिष्ठ नेतासहित सभासद्हरूको टोलीलाई सुरक्षित साथ बाहिर लैजान प्रहरीलाई निकै कठिनाइ भएको थियो ।
बाहिर नाराबाजी र ढुंगामुढा चलिरहेको अवस्थामा प्रहरीको सुरक्षा घेराभित्र सुझाव संकलन कार्य चलिरहेको थियो भने हलभित्र केहीबेर कुर्सी हानाहानसमेत भएको थियो ।
विरोध गरिरहेकाहरूले हलबाहिर राखेको माइकसमेत तोडफोड गरेका थिए ।
सुझाव संकलनको कार्य सकिएपछि वरिष्ठ नेतासहित सभासद्हरूलाई बाहिर निकाल्ने क्रममा प्रहरीले लाठी चार्ज र अश्रुग्यास प्रहार गरी भिडलाई तिरवितर पारेर उनीहरूलाई सुरक्षित साथ बाहिर निकाल्न सफल भएको थियो ।
क्षेत्र नं १ को कार्यक्रममा अवरोध सिर्जना भएपछि क्षेत्र नं २ र ३ नं मा भएको सुझाव संकलन कार्यक्रममा वरिष्ठ नेता नेपालसहित एमालेका सभासद्हरू उपस्थित भएनन् ।
क्षेत्र नं २ को राजपुर फरहदवामा आयोजित कार्यक्रमसमेत अन्तिम समयमा बिथोलिएको थियो ।
उक्त क्षेत्रमा नेपाली कांग्रेसका कार्यकर्ताहरूले कार्यक्रम बिथोलेको बताइएको छ ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य महमद अफताव आलमको गाउँमा कार्यक्रम रहेको र उक्त क्षेत्रमा फोरम लोकतान्त्रिकका मुस्ताक राजाले आलमलाई पराजित गरी विजयी भएकाले कार्यक्रम सफल हुन नदिन आलमले नै कार्यकर्ता परिचालन गरेको जनाइएको छ ।
क्षेत्र नं ३ मा भएको कार्यक्रममा भने विनाअवरोध सञ्चालन भएको छ ।
माओवादीका नेता प्रभु साहको गाउँ मौलापुरमा सञ्चालित कार्यक्रममा कसैले पनि हस्तक्षेप गर्ने हिम्मत नगरेका कारण कार्यक्रम सफल भएको स्थानीय बासिन्दाले बताए ।
उता, पर्सा संवाददाता जियालाल साहका अनुसार क्षेत्र नं १, २ र ५ मा विवाद हुँदा एक प्रहरी नायब उपरीक्षकसहित दर्जनौँ घाइते भएका छन् ।
पर्सा क्षेत्र नम्बर २ को मस्यौदा संकलनको क्रममा संघीय समाजवादी फोरम नेपाल पर्साका अध्यक्ष प्रदीप यादवको नेतृत्वमा रहेका उनका कार्यकार्ताहरूले जिल्ला विकास समिति कार्यलयको अगाडि ढुंगामुढा गर्दा पर्साका प्रहरी नायब उपरीक्षक यादवबहादुर घर्तीको टाउकोमा चोट लागेको छ ।
प्रहरीको लाठी चार्ज गर्दा भवानीपुर–६ का मोहन पटेल, राजेश पटेल र किशोर दास बानियाँ घाइते भएका छन् । यसैगरी, क्षेत्र नम्बर ५ मा मस्यौदा च्यात्ने र जलाउन खोज्दा भएको झडपमा वीरेन्द्र यादव, तबरेज आलम र द्वारिका पटेल घाइते भएका छन् ।
उता, पाँचथर संवाददाता कृष्ण ओझाका अनुसार संघीय लिम्बुवान पाटी नेपाल पाँचथरले सोमबार संविधान मस्यौदा सुझाव संकलन अवरुद्घ गरी मस्यौदा च्यातेका छन् ।
पाँचथर क्षेत्र नं १ को गोपेटारमा लिम्बुवान्ले नाराजुलुससहित २ घण्टा मस्यौदा सुझाव संकलनमा अवरुद्घ गरेका थिए । उपस्थित सभासद्हरूलाई कालोझन्डा प्रदर्शन गरी नाराजुलुस गरिएको थियो ।
नुवाकोट संवाददाताका अनुसार संविधानबारे सुझाव संकलन गर्न नुवाकोट आउँदै गरेको अर्थमन्त्री डा। रामशरण महतलाई लक्षित गरी सूर्यमति गाविसमा पेट्रोल बम प्रहार भएको थियो ।
सूर्यमतिको पट्टवारीनजिकै सडकमाथिबाट अज्ञात व्यक्तिले तीनवटा सिसी प्रहार गरेकामा अर्थमन्त्री डा महतको गाडीअगाडि बढिसकेकाले क्षति नभएको बताइएको छ । घटनास्थल पुगेका प्रहरीले भने पेट्रोल बम प्रहार भए/नभएको विषयमा यकिन हुन नसकेको बताएको छ ।
यता, इलाम संवाददाता राम योङहाङका अनुसार संविधानको प्रारम्भिक मस्यौदाको विरोध र सुझाव संकलनकने बहिष्कार गरेको संघीय समाजवादी फोरम इलामका अध्यक्ष देवेन्द्र राईसहित १५ जना जिल्ला स्तरका नेता तथा कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।
मस्यौदाको विरोध गर्दै जुलुस र कोणसभा गरी मस्यौदा जलाउने क्रममा चोक बजारबाट उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा उपाध्यक्ष बखतबहादुर आङदेम्बे, सचिव यामप्रसाद लिम्बू, उपसचिव लक्ष्मण राई, अग्रगावी विद्यार्थी युनियनका केन्द्रीय सदस्य रञ्जित साम्पाङ, जिल्ला अध्यक्ष जलन आङबुहाङ लिम्बू, महेन्द्र रत्न बुहुमखी क्याम्पस इलामका अध्यक्ष तेजकुमार माबो रहेका छन् ।
यस्तै, जिल्ला सदस्यहरू डिकबहादुर कट्वाल, गंगा सुनुवार, रामकुमार लिङ्दम, सुकराज राई, सुवास चौरासे, रोशन योङ्हाङ, प्रकाश राई र बुद्धिमान फागो पक्राउ परेका छन् । उनीहरूलाई जिल्ला प्रहरी कार्यालयको नियन्त्रणमा राखिएको छ ।
यसैबीच प्रहरी धरपकटका क्रममा समाजवादीका दुई जना सामान्य घाइते भएका छन् ।
प्रहरीको लाठी चार्जका क्रममा जिल्ला सदस्य प्रकाश राई र डिकबहादुर कट्वाल घाइते भएको हुन् । राईको कुइनामा र कट्वालको खुट्टामा चोट लागेको छ ।
शान्तिपूर्ण अन्दोलनमाथि प्रहरीद्वारा गरिएको दमन र हस्तक्षेपको सो पार्टीले भत्सर्ना गरेको छ ।
समाजवादी फोरमले संविधानको प्रारम्भिक मस्यौदामा अन्तरिम संविधानको धारा १३८ (क) र ८२ तथा सर्वोच्च अदालतको अन्तरिम आदेशको विपरीत भएको भन्दै विरोध र बहिष्कार गर्दै आएको छ ।
समाजवादीले ४ राजनीतिक पार्टीबीच भएको १६ बु“दे सम्झौतालाई खारेज गरी अन्तरिम संविधान र विभिन्न समयमा अन्दोलनरत पक्षस“ग गरिएका सहमति र सम्झौताबो आधारमा नामांकन र सीमांकनसहितको संविधान जारी हुनुपर्ने माग गरेको छ ।
सो पार्टीले सोमबार इलाममा आयोजित संविधानको मस्यौदा माथि सुझाव संकलन कार्यक्रमलाई लक्षित गरी विरोधको आयोजना गरेको थियो ।
रूपन्देही संवाददाता विकास पराजुलीका अनुसार रूपन्देहीको क्षेत्र नम्बर ७ लुम्बिनीमा सोमबार संविधानको प्रारम्भिक मस्यौदा विषयमा नागरिकको सुझाव संकलन गर्न आयोजित कार्यक्रम मधेसी मोर्चालगायतले हुलहुज्जत गर्दै कार्यक्रम बिथोलेका थिए ।
मधेसी मोर्चासम्बद्ध दलहरूको कारण सुझाव संकलनका लागि कार्यक्रम स्थल पुगेका सभासद् आदित्यनारायण कसौधन पूरा कार्यक्रम अवधिभरि नबसी भैरहवा फर्किएका थिए ।
केही मधेसी दलहरूले संविधानको प्रारम्भिक मस्यौदाको विरोध गर्दै एकैचोटि माइकमा बोल्न खोज्दा केही बेर समस्या आएको भए पनि सुझाव भएको थियो ।
यता रूपन्देही क्षेत्र नम्बर २ को सुझाव संकलन सदरमुकाम भैरहवामा भइरहेको छ । सुझाव संकलनको लागि भैरहवामा भएको कार्यक्रममा मानिसहरूको उत्साहजनक सहभागिता रहेको छ ।
स्थानीय सिद्धार्थ उद्योग वाणिज्य संघको सभाहलमा आयोजित कार्यक्रममा मानिसहरूको ठेलमठेल नै रहेको छ ।
सुझाव संकलनका लागि स्थानीय सिद्धार्थ नगरपालिकाका कार्यकारी अधिकृत विष्णुप्रसाद गौतमले संयोजन गरिरहेको सो कार्यक्रममा संविधानको प्रत्येक भाग, धाराहरूमा रहेर नागरिकले सुझाव दिइरहेका छन् भने संस्थागत रूपमा पनि लिखित रूपमा सुझाव आइरहेको नपाका सूचना प्रमुख देव ज्ञवालीले जनाए ।
रूपन्देही–२ को सुझाव संकलनका लागि सभासद्हरू दीपक बोहरा, इस्तियाक अहमद खा, भक्ति पाण्डे र आदित्य नारायण कसौधन सहभागी रहेका छन् ।
हलभित्र सुझाव संकलन भइरहँदा बाहिर मधेसी मोर्चासम्बद्ध दलहरू, दलित जनजाति पार्टी, बहुजन समाजवादी पार्टीलगायतले नाराबाजी गरिरहेका थिए ।
रूपन्देहीको अन्य क्षेत्रमा सुझाव संकलनको काम शान्तिपूर्ण भइरहको रूपन्देहीका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद ढकालले जनाए ।
यसैबीच राष्ट्रिय जनमुक्ति पार्टीले पनि बुटवलमा खबरदारी सभा आयोजना गरेको छ ।
विधि र विधान मिच्दै गरेको संविधान आपूहरूलाई मान्य नहुने भन्दै विरोध सभा गरेको राष्ट्रिय जनमुक्ति पार्टी रूपन्देहीले जनाएको छ ।
यसैगरी, रूपन्देही क्षेत्र नं। ४ को सुझाव संकलन अस्तव्यस्त बनेको छ ।
सानो हलमा आयोजित कार्यक्रममा सहभागीलाई बोल्न नदिई कागजमा टिपेर दिने गरिएको छ ।
नेकपा एमालेका उपमहासचिव विष्णु पौडेल उपस्थित सुझाव संकलन कार्यक्रममा स्थानीयहरूको ठूलो भिड रहे पनि स्थान अभावका कारण सबै मानिसहरू कार्यक्रममा बस्नसकेका छैनन् ।
रूपन्देहीको मर्चवारस्थित सुझाव संकलन केन्द्रमा पनि मधेसवादी दलका कार्यकर्ताहरूले संविधानको प्रारम्भिक मस्यौदा जलाएका छन् ।
सुझाव संकलनको कार्यक्रम भइरहेकाबेला संघीय समाजवादी फोरम नेपालका नेता बसिउद्दिन खाँले कोणसभा गरेपछि कार्यक्रम प्रभावित भएको थियो ।
उता महोत्तरी संवाददाता विक्रम रौनियारका अनुसार महोत्तरीको ६ वटै निर्वाचन क्षेत्रमा संविधानको प्रारम्भिक मस्यौदामाथि सुझाव लिने कार्यक्रममा विरोध भएको छ ।
विरोध प्रदर्शनको क्रममा जिल्लामा दर्जनौँ घाइते भएका छन् । ६ वटा निर्वाचन क्षेत्रमा भएको विरोध प्रदर्शनको क्रममा झडप हुँदा एक पूर्वसभासद् तथा एक प्रहरी निरीक्षकसहित २ दर्जनभन्दा बढी व्यक्तिहरू घाइते भएका हुन् ।
क्षेत्र नम्बर ५ मा भएको रायसुझाव संकलको क्रममा रामगोपालपुर उच्च माविमा विरोध गर्न गएका पूर्वसभासद् कौशलकुमार यादव, सद्भावनाका विदेश विभाग प्रमुख देवेन्द्र यादवसहित १२ जना प्रदर्शनकारी र एक प्रहरी घाइते भएका छन् ।
स्तै जिल्लाको क्षेत्र नम्बर ४ स्थित मनरा उमाविमा भएको कार्यक्रमका क्रममा प्रहरी निरीक्षक नरेश महतो घाइते भएका छन् । महतोको टाउकोमा चोट लागेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक लोकेन्द्र श्रेष्ठले जानकारी दिए ।
यस्तै, क्षेत्र नम्बर ३ को संकलन केन्द्र जिल्ला सदरमुकाम जलेश्वरमा प्रहरी र प्रदर्शनकारीबीच भएको झडपमा सद्भावना पार्टीका केन्द्रीय सदस्य रमन पाण्डेय, नागरिक समाजका देवेन्द्र चौधरीलगायत विभिन्न पार्टीका नेता कार्यकर्ता घाइते भएका छन् ।
त्यस्तै, अन्य दर्जनौँ प्रदर्शकारीहरूलाई सामान्य चोटपटक लागेको छ । त्यस्तै मधेसवादी दलहरूको संयुक्त मधेसी लोकतान्त्रिक मोर्चा र नेकपा माओवादी वैद्य समूह, राप्रपा नेपालका नेता तथा कार्यकर्ताहरूले महोत्तरीको ६ वटै निर्वाचन क्षेत्रको सुझाव संकलन केन्द्रहरूमा विरोध प्रदर्शन गर्नुका साथै मस्यौदामा आगजनी गर्दै नाराबाजी गरेका थिए ।
सदरमुकाम जलेश्वरस्थित जिल्ला विकास समितिको सभाहलमा भएको सुझाव संकलन कार्यक्रममा मधेसी मोर्चाका नेता कार्यकर्ताले पटकपटक संकलन केन्द्रभित्र प्रवेश गरेर कार्यक्रम बिथोल्ने प्रयास गरेपछि प्रहरीले बल प्रयोग गरेर जिविसको मूल गेटबाहिर निकालेर मस्यौदामा सुझाव लिन आएका सभासद् रामदयाल मण्डल बसेको मञ्चलाई प्रहरी घेरामा राखी कडा सुरक्षाबीच सुझाव लिने कार्य गरिएको थियो ।















प्रतिक्रिया