– प्रकाशचन्द्र भट्टराई
तनहुँ, ४ साउन । तनहुँको दमौलीमा संविधानको मस्यौदामाथि सुझाव संकलन कार्यक्रम चलिरहँदा नेकपा–माओवादी र नेकपा माओवादी (विप्लव) पक्षका कार्यकर्ताहरुले संविधानको मस्यौदा च्यातेका छन् ।
नेपाली काँग्रेसका उपसभापती एवं तनहुँ क्षेत्र नम्बर २ का सभासद रामचन्द्र पौडेल उपस्थित रहेको सो कार्यक्रममा नेकपा–माओवादीका जिल्ला सचिव अतिन्द्रकेशरी न्यौपानेले समय लिएर आफ्नो सुझाव राख्ने क्रममा सुझाव संकलन कार्यक्रम औचित्य हिन र संविधानको मस्यौदाले जनताको भावनाको प्रतिनिधित्व नगर्ने बताउँदै मस्यौदा च्यात्ने उद्घोष गर्नासाथ हलमा उपस्थित कार्यकर्ताहरुले एकै साथ मस्यौदा च्यातेका थिए ।
मस्यौदा च्यात्ने क्रममा प्रहरीले हस्तक्षेप गर्न खोजेपनि मस्यौदा च्यात्नबाट भने रोक्न सकेन । मस्यौदा च्यातेपछि उक्त दुबै पार्टीका कार्यकर्ताहरु सुझाव संकलन कार्यक्रम बहिष्कार गर्न आह्वान गर्दै नारावाजी गर्दै हलबाट बाहिरिएका थिए । डुम्रे र दुलेगौंडामा पनि सुझाव संकलन कार्यक्रममा संविधानको मस्यौदा च्यातिएको थियो । यस्तै मस्यौदामाथीको सुझाव संकलन कार्यक्रम बहिष्कार गर्न दमौलीका विभिन्न स्थानमा भित्तेलेखन समेत गरिएको थियो । उक्त भित्ते लेखन प्रहरीले मेटेको छ ।
यस्तै दमौलीमा आयोजित सुझाव संकलन कार्यक्रममा राप्रपा नेपालका कार्यकर्ताहरुले नारावाजी गरेका छन् । आफ्नो लिखीत सुझाव संविधानसभाका सदस्यहरुलाई हस्तान्तरण गरिसकेपछि राप्रपा नेपालका कार्यकर्ताहरुले हिन्दु राष्ट्र हुनु पर्ने, धर्म निरपेक्षता खारेज हुनु पर्ने लगायतका नारा लगाएका थिए । राप्रपा नेपालको नारावाजी पछि राष्ट्रिय जनमुक्ती पार्टी र आदिवासी जनजाती महासंघले आपत्ती जनाएपछि नारावाजी स्थगित भएको थियो ।
तनहुँमा आयोजित कार्यक्रममा अधिकांश सहभागीहरुले धर्मनिरपेक्ष हटाई धार्मिक स्वतन्त्रता कायम हुनु पर्ने माग गरेका छन् । कार्यक्रममा उपस्थित नेपाली काँग्रेसका कार्यकर्ता, राप्रपा नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टी, ब्राह्मण, क्षेत्री, दशनामी, रानाभाट समाज र विश्व हिन्दु महासंघ लगायतका संस्थाका प्रतिनिधिहरुले नेपाललाई धर्मनिरपेक्ष हटाई सनातन हिन्दु राज्य बनाउनु पर्ने माग समेत गरे ।
सुझाव दिने अधिकांशले आरक्षणको व्यवस्था जातीय आधारमा नभई बर्गिय आधारमा हुनु पर्ने बताए । हरेक तहमा महिलाको समानुपातिक प्रतिनिधित्व हुनु पर्ने, दलितहरुलाई जनसंख्याको आधारमा १३ प्रतिशत आरक्षणको व्यवस्था हुनुपर्ने, सबै क्षेत्रमा दलितको समानुपातिक प्रतिनिधित्व हुनु पर्ने, प्रतक्ष्य निर्वाचित प्रधानमन्त्रीको व्यवस्था हुनु पर्ने संविधानमा बालबालिकाको अधिकार सुनिश्चित हुनु पर्ने, सडक बालबालिकाको संरक्षणको दायित्व राज्यको हुनु पर्ने, संविधानको प्रस्तावनामा पुर्ण प्रेस स्वतन्त्रता हुनु पर्ने लगायतका मागहरु गरेका थिए । सो कार्यक्रममा सभासद रामचन्द्र पौडेलले संविधानका सुझावहरु ग्रहण गरिने बताए । जनताको सुझावले संविधानलाई अझ उत्कृष्ट बन्न सहयोग पुग्ने सभासद् पौडेलको भनाई थियो ।
















प्रतिक्रिया