काठमाडौं, ३ साउन । बारम्बार फोन आएको विषयलाई लिएर भएको विवादमा एक युवकले श्रीमतीको हत्या गरेका छन् ।
सिराहा घर भएका जाबिर अन्सारीले बिहीबार भक्तपुरमा श्रीमती साहादाजी खातुनको हत्या गरेका हुन् ।
आपसी झगडा भएपछि बिहीबार बेलुका उनीहरू बालकोट प्रहरी प्रभागमा मिलापत्र गरेर घर फर्किएका थिए ।
फर्कने क्रममा श्रीमतीको मोबाइलमा अन्य युवकको फोन आएको भन्दै अन्सारीले बाटोमै श्रीमतीको हत्या गरेर हनुमन्ते खोलामा फालेको नयाँ पत्रिका दैनिकले छापेको छ ।
प्रहरीले शुक्रबार अन्सारीलाई पक्राउ गरेको छ । हत्यापछि कालोपुलस्थित भाउजूको डेरामा लुकेका उनलाई त्यहीँबाट प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीका अनुसार श्रीमतीको मोबाइलमा बारम्बार फोन आउने र त्यही विषयमा सधैँ उनीहरूबीच झगडा हुदै आएको थियो ।
पक्राउ परेका अन्सारीले आफूले श्रीमतीको हत्या गरेर फालेको स्विकारेका छन् ।
महानगरीय प्रहरी वृत्त सानोठिमीका डिएसपी भीमकिरण बोगटीका अनुसार शव फाल्न सहयोग गरेकी उनकी भाउजू सुनसरी घर भएकी मनिका चौधरीसमेत पक्राउ परेकी छिन् ।
खातुनको शव खोलाछेउमा शुक्रबार भेटिएपछि प्रहरीले अनुसन्धानअघि बढाएको थियो ।
महानगरीय अपराध महाशाखा टेकु र ठिमी वृत्तले संयुक्त रूपमा अनुसन्धान गरी अन्सारीलाई दुई दिनभित्रै पक्राउ गरेको हो ।
प्रहरीका अनुसार उनीहरूले दुई वर्षअघि मात्र भागीविवाह गरेका थिए ।
उनीहरू बालकोटस्थित पाथीभरा ब्याग उद्योगमा काम गर्दै आएका थिए ।
दुवैजना सोही उद्योग परिसरमा रहेको कोठामा बस्दै आएका थिए ।
प्रहरीका अनुसार अन्सारी २० वर्षका थिए भने खातुन ३० वर्षकी थिइन् ।
उमेरअन्तर धेरै भएकाले पनि उनीहरूबीचको सम्बन्ध राम्रो थिएन ।
खातुनको मोबाइलमा विभिन्न युवकको बारम्बार फोन आउने गरेको विषयमा पनि झगडा हुँदै आएको थियो ।
सिराहाको भदैहा माइती भएकी अन्सारीसँग खातुनको तेस्रो बिहे थियो ।
गत बिहीबार पनि झगडा चर्किएपछि उनीहरू बालकोटस्थित प्रहरी चौकीमा गएका थिए ।
चौकीमा मिलापत्र गरेर दुवैजना घरतर्फ हिँडेका थिए । फर्कने क्रममा खातुनलाई फोन आएपछि फेरि झगडा भएको र खेतमा कुटेर हत्या गरेको अनुसन्धानमा खुलेको छ ।
डिएसपी बोगटीका अनुसार राति फेरि आएर खोलाको किनारमा शव फालेर अन्सारी भागेका थिए ।















प्रतिक्रिया