– बिश्वास खड्काथोकी
‘राजनीति फोहोरी खेल हो ।’ यो नेपालमा स्थापित उखान जस्तै बनेको छ । अनि कोही नेता मन्त्री भयो भने सामान्य जनताले पनि भन्न छोड्दैनन्, ‘अब यिनले जिन्दगी बनाउने भए ।’ यही देशका सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित भने त्यस्ता व्यक्ति हुन्, जसले आफ्नो मन्त्रालयमा गाडी खरिदका लागि आएको ८० लाख रुपैयाँ भूकम्प पीडितको सहयोग गर्ने गरी फिर्ता पठाइदिए । आफ्नो मन्त्रालयमा बाँचेखुचेको रकम जम्मा गरी करिब साँढे तीन करोड रुपैयाँ सरकारलाई फिर्ता दिए ।
लालबाबु भन्छन्, ‘करिब साँढे एक लाख नेपालीसँग मेरो मोवाइल नम्बर छ । एकाधबाहेक सबैको फोन उठाउँछु ।’
जब भूकम्प गयो । लालबाबुको मोबाइलमा लगातार फोन आउन थाले । कुनै नेता या मन्त्रीको होइन, धमाधम सर्वसाधारणले फोन गर्न थाले । ती नम्बर पूरै अपरिचित थिए । तर लालबाबुले कुनै फोनलाई पनि बेवास्ता गरेनन् । फोनमा बोलेको भन्दा, रोएका बढ्ता सुनिन्थ्यो । फोन उठाइरहे, सान्त्वनाका शब्द पोखिरहे ।
शनिवारको दिन थियो । १२ बजे जब भूकम्प गयो । तत्कालै काठमाडौंको मित्रनगरत्रबाट फोन आयो, ‘ल यहाँ त बर्बाद भयो, केही गर्नुपर्यो ।’ फोन अपरिचित नम्बरबाट आएको थियो । उनले तत्काल सेनालाई फोन लगाए, अनि त्यहाँ पुग्न आदेश दिए, ‘तत्काल मित्रनगर पुग्नु ।’ मन्त्री पण्डित सम्झन्छन्, ‘ठूलो डोजर छिरेन, त्यसपछि सानो पठाएँ, त्यो पनि छिरेन । त्यो दिन त्यहाँ जान सक्ने स्थिति रहेन । अनि भोलिपल्ट बिहानै चिनिया टोली पठाएँ ।’
भोलिपल्ट नौ बजेनै अफिस आइपुगे । भवनमा बस्ने अवस्था थिएन । नजिकै गाडी पार्किङ छ, कर्मचारीलाई त्यहीँ काम गर्न लगाए । अनि कर्मचारीलाई कडा निर्देशन दिए, ‘तपाईँहरु फिल्डमा गएर देशको सेना, प्रहरी जसरी खट्नुपर्छ । यदि कोही खट्दैन भने, सोचेहुन्छ तपाईँको जागिर संकटमा पर्यो । तपाईँलाइ संकट पर्यो भने हेलिकप्टरको पनि व्यवस्था हुन्छ ।’
उनी भन्छन्, ‘धेरै कर्मचारीले काम पनि राम्रोसँग गरे, कति दिन ओढारमा बसेर ज्यान बचाए, दोलखा र सिन्धुपाल्चोकमा हेलिकप्टरले नै उद्दार गर्नुपरेको थियो ।’
केही दिनसम्म उनको कामनै त्यही भयो । सर्वसाधारणको फोन उठाउने अनि अनि उनीहरुले जे–जे अहर्याउँछन्, त्यही त्यही काम गर्ने । भन्छन्, ‘दिनमा पाँच सात सयको फोन आउँथ्यो ।’ उनी त्यतिबेला कारिन्दा नै भएका थिए । हो, मन्त्री जनताको कारिन्दा नै हो ।

उनलाई सबैभन्दा बढी सिन्धुपाल्चोक, गोरखा र रसुवाबाट फोन आयो । नुवाकोटबाट आयो, दोलखा, रामेछाप, ओखलढुंगा, भक्तपुर, काठमाडौं, धादिङ देशभरबाट आयो । बिदेशबाट पनि आयो । फोनमा सबैको गुनासो उस्तै हुन्थ्यो– खाना छैन, पाल छैन, पानी छैन ।
लालबाबु भन्छन्, ‘मैले तत्काल सम्बन्धित जिल्लाको सिडिओलाई फोन गर्थेँ, अनि त्यहाँ खाना लैजान निर्देशन दिन्थेँ । ति फोन गर्नेलाई पनि भन्थेँ केही समयसम्म तपाईँले खान पाउनुभएन भने फेरि फोन गर्नुस । तर, त्यसपछि फोन आउने थिएन ।’
उनी बिहान चार बजे उठ्थे अनि फोनमा ब्यस्त । राती ११ बजेसम्म उनको मोबाइलले सुख पाउने थिएन । लालबाबु भन्छन्, ‘करिब साँढे एक लाख नेपालीसँग मेरो मोवाइल नम्बर छ । एकाधबाहेक सबैको फोन उठाउँछु ।’
कतिकतिले त जिस्क्याए पनि । ‘सस्तो लोकप्रियताका लागि सबैको फोन उठाउनु हुन्छ’ भने । कतिले मौकामा चौका हान्न कस्सिए । ‘भात छैन भनेर फोन गर्थे । ठीक छ म खाना पठाइदिन्छु भन्दा फेरि मोटरसाइकलमा तेल छैन भन्थे’, मन्त्री पण्डितले थपे, ‘मेरो गृह जिल्लाबाट कार्यकर्ताले फोन गरेर मलाई राहत चाहियो भने ।’ तपाईँलाई किन राहत भन्दा ‘हामी पनि नेपाली हौँ, मन्त्री भएपछि त्यति गर्न सकिदैन भने ? मैले जबाफ फर्काएँ, ‘तिमी बाँचेका छौ, तिमीलाई यही हो राहत ।’
उनी नौ बजे अफिस आइपुग्थे । अनि आफै पनि उद्धारमा खटिन पुग्थे । बेलुकी ६–७ बजेतिर निवास फर्किन्थे । भने, ‘खाने समयतालिका थिएन, टिफिनमा खान लिएर निस्कन्थेँ । जहाँ मौका मिल्छ त्यहीँ खान्थेँ ।’
‘कति दिन त यस्तो भयो, बिहान ६ बजे उठेर स्वयमसेवा गर्न जान्थेँ । अनि नौ बजे मन्त्रिपरिषद्को बैठक भेटाउन पुग्थेँ । शनिवार त दिनभर खटिन्थेँ’– उनी थप खुल्छन् । त्यसबेला उनी कि मन्त्रालय, कि मिटिङ कि त स्वयमसेवकका रुपमा काम गरिरहेको भेटिन्थे ।
एक पटक एनआरएनका कृष्ण ताम्राकारको फोन आयो । ‘एयरपोर्टमा भूकम्पपीडितका लागि पठाएको हाम्रो सामान रोकियो । कसरी बाहिर ल्याउने’– उनले मन्त्रीसमक्ष गुनासो पोखिन् ।
पण्डितले जवाफ दिए, ‘यदि यो साँच्चै हो भने तपाईँको सामान १५ मिनेट पनि एयरपोर्टमा रहँदैन । संसारभरका एनआरएनलाई मेरो नम्बर दिनुहोस् र मलाई फोन गर्न भन्नुस् ।’
उनलाई १५ दिनसम्म पाल पुगेन भनेर फोन आयो । कसैले सरकार कहाँ छ ? भने । मन्त्री पण्डित भन्छन्, ‘कतिपयले फाइदा पनि उठाए, पाएर पनि पाएनौँ भने । तर, दुःख लाग्छ कतिपय दुर्गमका भूकम्पपीडित अहिले पनि समस्यामा छन् ।’
पण्डितको त्यो निर्णयले अहिले पनि उनलाई गर्व लाग्छ, ‘रोड क्लिएर गरेर काठमाडौंका मानिसलाई घर फर्काऔँ भनेर क्याबिनेटमा प्रस्ताव गर्ने मै थिएँ । सबै गाडी चलाउन भनेँ । स्कुल बस पनि सुचारु गर्न लगाएँ । बस व्यवसायी समिति, ट्रेड युनियनका मानिसहरुलाई आफै फोन गरेँ । निःशुल्क भए पनि मानिसलाई घर पठाउन भनेँ । विराटनगरबाट पनि ४० वटा जति गाडी आयो । अनि काठमाडौंको भीड कम भयो । काम गर्न पनि सजिलो भयो ।’
















प्रतिक्रिया