काठमाडौं, १ साउन । बिगत ११ दिनदेखि बन्द रहेको मेनपावर कम्पनी बिदा सकिएसँगै सञ्चालनमा आउने भएका छन् ।
सरकारले बैदेशिक रोजगारको लागि मलेसिया लगायत सात खाडी मुलुकमा लागु गर्न लागेको फ्रि भिसा र फ्रि टिकेटको बिरुद्धमा बैदेशिक रोजगार व्यवसायी संघ गत असार २१ देखि व्यवसाय नै ठप्प पारी आन्दोलनमा उत्रिएको थियो ।
आज व्यवसायी र सरकारसंगको वार्ता टुंगिने पक्का भएको प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्चका निर्वतमान अध्यक्ष टंक राउतले जानकारी दिए । ‘फ्रि भिसा र फ्रि टिकट बाहेक अरु विषयमा आजै सम्झौता हुने भएको छ’, राउतले दैनिक नेपालसँग भने, ‘सरकारले टिकट, भिसाको कुरा अदालतमा बिचाराधिन रहेकाले त्यसबारे केही गर्न नसकिने बताएको छ । त्यसको लागि अदालतको निर्णय नै पर्खनुपर्ने भएको छ ।’
आइत, सोम र मंगलबार बिदा रहेकाले त्यसपछि सबै व्यवसाय संञ्चालनमा ल्याउने व्यवसायी राउतले जानकारी दिए । अहिले श्रम मन्त्रालय र बैदेशिक रोजगार व्यवसायी संघ वार्तामा रहेकाले कुन कुन विषयमा सहमति भयो भन्नेबारे भने जानकारी आइसकेको छैन ।
मेनपावर कम्पनी बन्द भएपछि बैदेशिक रोजगारमा जाने हजारौँ कामदार अलपत्रमा परेका छन् । मन्त्रालयले फ्रि भिसा र फ्रि टिकटको नीति ल्याएपछि भने वाही वाही पाएको थियो ।















प्रतिक्रिया