काठमाडौँ, १ साउन । लगातार दोस्रोपटक टी–ट्वान्टी विश्वकपमा छनोट हुने उद्देश्यका साथ आयरल्यान्ड पुगेको नेपाली क्रिकेट टोली हङ्कङसँगको पछिल्लो हारले दबाबमा परेको छ ।
जित्नैपर्ने दबाबका बीच नेपाली टोलीले अहिले दिउँसो २.४५ बजे पपुवा न्युगिनीको सामना गर्दैछ । आजको खेल गुमाएको खण्डमा नेपालले विश्वकप यात्रा टुङ्ग्याउनुपर्नेछ ।
खेलकुद विज्ञका अनुसार दुबै टिम निकै प्रतिस्पर्धी टिम हुन् । हालसम्मको दुई देशको भिडन्तमा नतिजा नेपालको पक्षमा छ । नेपालले पपुवा न्युगिनीविरुद्धका तीन भेटमा दुईमा जित र एकमा मात्र हार व्यहोरेको छ । तसर्थ पनि नेपाली क्रिकेट समर्थकले आज नेपाली टोलीले पपुवा न्युगिनीलाई पराजित गरेर विश्वकप यात्रा जीवितै राख्ने आशा गरेका छन् ।
त्यस्तै, पपुवा न्युगिनीले जारी टी-ट्वान्टी विश्वकप छनोटमा राम्रो प्रदर्शन गरी अपराजित यात्रा कामय राखेको छ । उसले अहिलेसम्म ३ खेल खेल्दै दुईमा जीत हात पारेको छ भने उसको एक खेल पानीका कारण अवरुद्ध पारेको थियो । प्रतियोगिताको दाबेदार मानिएको आयरल्याण्डलाई २ विकेटले हराउँदै आफू राम्रो टीम भएको पपुवा न्युगिनीले प्रष्ट पारिसकेको छ ।
५ अंकका साथ अंक तालिकामा दोस्रो नम्बरमा रहेको पपुवा न्युगिनी आजको खेल जितेर अंक तालिकाको शीर्ष स्थानमा उक्लने दाउमा छ ।
नेपाल पनि आजको खेल जितेर अंकतालिकाको चौथो स्थानमा उक्लिएर विश्वकप यात्रा जिवितै राख्ने दाउँमा छ । अहिलेको अवस्था दुबै टिमलाई निकै प्रतिस्पर्धी टिमका रुपमा हेरिएको छ । विश्वकप छनोटमा पपुवा न्युगिनीले राम्रो प्रदर्शन गरेपनि नेपालसँग पराजित हुन सक्ने विश्लेषकहरुले सम्भावना देखेका छन् । किनकि पपुवा न्युगिनी यसअघिका खेलमा नेपालसँग पराजित हुँदै आएको थियो । र आज पनि त्यसले निरन्तरता पाउन सक्छ ।
यसअघि अमेरिकासँग जित निकालेको नेपालले नामिबियासँगको खेल वर्षाका कारण अवरुद्ध भएपछि एक-एक अङ्क बाँडेको थियो । तेस्रो खेलमा आयोजक आयरल्यान्डसँग नमिठो हार भोगेको नेपालले अपेक्षाविपरीत हङ्कङसँग पनि हार व्यहो¥यो ।
समूह ‘ए’ मा सात टोली छन् । जसमा आयरल्यान्ड पहिलो स्थानमा, पपुवा न्युगिनी दोस्रोमा हुँदा नेपालले भने पाँचौँ स्थानमा चित्त बुझाउनुपरेको छ । नेपालले खेलेका हरेक खेलमा ब्याटिङ पक्ष कमजोर देखिएको छ । विश्वकप यात्रा नेपालले कायमै राख्ने हो भने ब्याटिङमा सुधार गर्नुपर्ने क्रिकेट विज्ञहरुको सुझाव छ ।
सोमबार हङ्कङसँगको अप्रत्यासित पाँच विकेटको हारपछि पनि नेपाली कप्तान पारस खड्काले विश्वकप यात्रा नसकिएको सङ्केत गर्दै भन्नुभएको छ – “हामी अबका खेलमा ब्याटिङ सुधार गर्दै जितकै लागि खेल्नेछौँ र विश्वकपमा छनोट हुने आशा जीवितै राख्ने प्रयास गर्नेछौँ ।”















प्रतिक्रिया