काठमाडौं । घर भाडामा बिबाद हुँदा घर मालिकलाई नै ज्यानमार्ने उद्देश्ले खुकुरी प्रहार गर्ने ठमेलका गुण्डा नाइके राम गिरी हतियारका कारोबारी भएको रहस्य विस्तारै खुल्दै छ ।
प्रहरी स्रोतका अनुसार चाचन हत्याकाण्ड, टेकुको एक्साईड व्याट्री र ठमेलको भिक्षु निमा लामाको गोेली प्रहारमा प्रयोग भएको पेस्तोल गुण्डा गिरीले उपलब्ध गराएको कुरा यतिखेर खुलेपछि प्रहरीका लागि टाउको दुखाईको विषय बनेको समाचार यूनाइटेड पोष्ट साप्ताहिकले समाचार छापेको छ ।
किनकी काठमाडौंमा केही ‘इन्काउन्टर स्पेसलिष्ट’ प्रहरी अधिकारीसँग उनको व्यवसायिक साझेदारी रहेको छ । चाचन हत्याकाण्डको चार बर्षपछि सुनील महर्जन र निरज केसीे पक्राउ परेपछि गिरीको कारोबारको पर्दाफास भएको हो ।
गोली प्रहार गरी लुटपाट तथा हत्या गर्ने काठमाडौं–३४ भीमसेनगोला स्थायी ठेगाना भएका ४१ बर्षीय निरज केसी र काठमाडौं–२२ टेबबहाल संकटा स्थायी ठेगाना भएका ३५ बर्षीय सुनिल महर्जनलाई अपराध महाशाखाको टोलीले १० महिना अगाडी पक्राउ गरेको थियो ।
महाशाखाले केसीलाई सुनसरी धरान–१४ विजयपुर र महर्जनलाई काठमाडौं नक्सालबाट पक्राउ गरी अनुसन्धान गर्दा ठमेलका रात्रीकानलीन व्यवसायि भनिएका गुण्डाका नाईके गिरी हातहतियारको कारोबारी भएको खुलासा भएको हो ।
पक्राउ परेका महर्जन र केसीले लुटपाट र हत्यामा प्रयोग गरिएको हतियार ठमेलको नशा रेष्टुरेन्टमा राम गिरी र सुरज प्रधानसँग ८० हजारमा किनेको बयान दिएका थिए ।
अभियुक्तको उक्त बयानपछि व्यापारी भनिएका ठमेलका गिरीले हातहतियारको समेत अबैध कारोबार गर्ने गरेको खुलासा भएको हो । उनी नशा रेष्टुरेन्टका पनि मालिक हुन ।
२०६५ सालदेखि आपराधिक समूह बनाई विभिन्न समयमा काठमाडौंमा चारको हत्या तथा लुटपाटका घटनामा संलग्न रहेका आपाराधिक समूहसँग गिरीको हिमचिम देखिएपछि अपराध महाशाखाले उनलाई कारवाहीको प्रक्रिया अगाडी नबढाई उल्टै अपराध लुकाउँदै आएको थियो ।
स्रोतका अनुसार हाल महाशाखाले काठमाडौंमा हतियारको कारोबारी र गुण्डा नाइकेहरुको फाइल पल्टाउँदै जाँदा गिरी नै प्रहरीसँग मिलेर आपराधिक क्रियाकलापमा संलग्न रहेको पत्ता लगाएको छ ।
मौखिक बयानमा अभियुक्तद्धयले उक्त हतियार सुरज र गिरीसँग किनेको बयान दिएपनि कागजी रुपमा भने सुरजको मात्र नाम आएपछि ठूलै रकमको चलखेल गरी गिरीलाई जोेगाइएको महाशाखा स्रोत बताउँछ ।
सुरज उनै व्यक्ति हुन जो गिरीको व्यावसायीक पार्टनर पनि हुन । स्रोतका अनुसार पाँच महिना अघि विदेशबाट आएका सुरजसँगको भेटघाटको क्रममा गिरीले हतियारको मुद्दा मिलाउन एसएसपी पुष्कर कार्कीलाई १० लाख खर्च गरेको बताएपछि यो रहस्य बाहिर आएको हो ।
सुरज बिगत पाँच बर्षदेखी हंकङकमा बस्दै आएका थिए । गिरीसँग हिमचिम भएको आपराधिक गिरोहले २०६६ मा बाफलका एक व्यापारीलाई धारिलो हतियार देखाई नियन्त्रणमा लिई पाँच लाख, २०६७ कात्तिक १७ गते काठमाडौं–२९ ठमेलका ४२ बर्षीय बौद्ध भिक्षु निमा लामालाई पेस्तोलबाट गोली प्रहार गरी उनको साथमा रहेको १० लाख रुपैयाँ डकैती गरेको थियो ।
साथै २०६७ चैत १० गते टेकुको एक्साईड ब्याट्रिको कार्यालयमा भएको हत्याकाण्ड र चैत २७ को अञ्जनीकुमार चाचन हत्याकाण्ड लगायतको अपराधको घटनामा पनि गिरी मुछिएका थिए ।
गिरीले केहि भ्रष्ट प्रहरीको आडमा पाँचबर्ष यता ठमेलमा डन राज चलाउँदै आएका छन् ।
पछिल्लो समय काभ्रेली समूहका गणेश लामाले ठमेलको व्यापार छाडेर राजनीति तर्फ लागेपछि ठमेलमा गिरीले राज गर्न खोजेका हुन् । गिरीका सहयोगी धेरै नभएपनि उनले प्रहरीको आडमा ठमेलमा गुण्डागर्दी गर्दै आएको सोहखुट्टे प्रहरी बृत्तका जुनियर प्रहरी अधिकृतहरु नै बताउँछन् ।
गिरीले गत बर्ष भाडाको बिषयमा बिबाद हँदा घरबेटीलाई नै खुकुरी प्रहार गर्न आफ्ना सहयोगी परिचालन गरेका थिए ।
उक्त मुद्दामा गिरीलाई जिल्ला अदालत काठमाडौंले ४५ हजार धरौंटी मागेको थियो । उक्त धरौंटी बुझाएर गिरी थुनामुक्त भए भने उनका सहयोगीलाई प्रहरीले पक्राउ गरेन ।
गिरी पक्राउ गर्ने तत्कालिन दरबारमार्ग बृत्तका डीएसपी राजकुमार सिलवाललाई गिरी र उनलाई सहयोग गर्ने केहि भ्रष्ट प्रहरी अधिकृतले अनेक काण्ड लगाएर दरबारमार्गबाट सरुवा गराउन सफल भएका थिए ।
दरबारमार्गका डीएसपी रमेश बस्नेतलाई आफूले ल्याएकोे दाबी गर्ने गिरीले आफ् सहयोगी गुण्डाहरुलाई पक्राउ गर्न नदिएका कारण उनको दाबीलाई पुष्टि गर्ने आधार मिलेको छ । गिरीलाई उक्त मुद्दामा डीएसपी सिलवालले २६ दिन सम्म हिरासतमा लिएका थिए ।
त्यस्तै ठमेलको ज्याँठामा जिम क्लब सञ्चालन गर्दै आएका मिलन श्रेष्ठलाई गिरीको योजनामा बाटो ढुकेर बसको समूहले खुकुरी प्रहार गरेको थियो । पाँच बर्ष घर भाडामा लिएर गिरीले भाडा नतिरेपछि उनीहरुबीच बिबाद सुरु भएको थियो ।
गिरीले प्रहरीका हाकिम आफ्नो रेष्टुरेन्टमा जाँड खान आउने र ठमेलको आफू डन भएको धम्की दिंदै घरमालिकलाई तर्साउँदै आएका थिए । गिरीले भाडा नतिर्ने नियत देखाएपछि घरमालिकले घरमा ताल्चा लगाएका थिए ।
गिरीले कब्जा गरेको घर मालिकले फुत्काउन खोजेपछि ज्यानमार्ने उद्देश्ले घरमालिकको भतिजो श्रेष्ठलाई खुकुरी प्रहार गरेका थिए । त्यसो त गिरी ठमेलमा बिबादास्पद ब्यक्तिको रुपले चिनिन्छन् ।
ठमेलमा दिपक मनाङ्गेपछिको डन आफूभएको दाबी गर्ने गुण्डा नाइके गिरीले पछिल्लो समय गिरोह परिचालन गरी ठमेलका ब्यापारी तथा घर धनीहरुबाटसमेत हप्ता असुली गर्न थालेको स्रोतको भनाई छ ।
प्रहरीलाई आफ्नो जालोमा फसाएर गिरीले ठमेलमा बिगत एक दशक देखि आपराधीक गतिबिधि सञ्चालन गर्दै आएका छन् । गेष्ट हाउसमा यौनकर्मी राखेर अखडा चलाउने देखि गिरीले प्रहरीलाई युवतीसम्म मिलाउने गरेको उनी निकट स्रोत बताउँछ ।
त्यतिबेला गिरी पक्राउ परेपछि दरबारमार्ग बृत्तमा गिरीलाई छुटाउन तथा भेट गर्न एक दर्जन प्रहरीका अधिकृतदेखि केहि पत्रकारसमेत पुगेका थिए ।
गुण्डाका नाईकेहरुलाई जुधाउने देखि मिलाउने नाममा करौंडौ असुल्न सफल भएका पूर्व एसपी ढकबहादुर कार्कीसमेत गिरीलाई छुटाउन दरबारमार्ग बृत्त पुगेका थिए । तर बृत्तका डिएसपी राजकुमार सिलवालको अडानका कारण गिरी २६ दिन हिरासतमा थन्किएका थिए ।
ठमेलमा नशा डान्सबार, फेसेज डिस्को र अहिले गैर कानूनी तरिकाले दरबारमार्गमा भिक्टोरीया लाउञ्ज बार लगायत आधा दर्जन अबैध अखडाका मालिक गिरीले प्रहरीकै संरक्षणमा आपराधिक क्रियाकलाप सञ्चालन गर्दै आएका छन् ।
त्यस्तै लाजिम्पाटमा प्रहरीहरुको अखडाका रुपमा चिनिने भेनस रेष्ट्रोमा समेत गिरीको लगानी छ । एक डिएसपीसँग मिलेर उनले हालै उक्त रेष्टुरेन्टमा हात हालेका हुन् ।
सोहखुट्टे र दरबारमार्ग प्रहरी प्रमुखमा आउने प्रत्येक डिएसपी आफूले ल्याएको हल्ला पिटाउँदै गिरीले ठमेलका अन्य ब्यवसायीहरुलाई धम्क्याउने गरेको स्रोतको दाबी छ । भ्रष्ट र मदिरामा लठ्ठिने प्रहरीलाई गिरीले आफ्नो प्रभावमा पारेर फाइदा लिने गरेको एक प्रहरी अधिकृत बताउँछन् ।
स्रोह्रखुट्टेका तत्कालिन प्रहरी निरीक्षक तिलक भारती र दरबारमार्गका तत्कालिन प्रहरी निरीक्षक डा. तपन दाहाल गिरीका ब्यबसायीक पार्टनर रहेको उनीहरु बीचको कारोबारले नै पुष्टि हुन्छ ।
अहिले तिनै प्रहरीले गिरी ठमेलको राम्रो व्यापारी भएको भ्रम फैलाउँदै आएका छन् । प्रहरी निरीक्षक दाहाल, भारती र पूर्व एसपी कार्कीले गिरीलाई संरक्षण दिंदै मोटो रकम हातपार्दै आएको स्रोत बताउँछ ।















प्रतिक्रिया