काठमाडौं, २९ असार । टी-ट्वान्टी विश्वकप छनोट प्रतियोगिताको आफ्नो तेस्रो खेलमा आयरल्याण्डविरुद्ध अन्तर्राष्ट्रिय क्रिकेट इतिहासमै न्यून स्कोरको लक्ष्य प्रदर्शन गरेको नेपाल शीर्षस्थानबाट चौथो स्थानमा झरेको छ ।
सुरुवाती खेलमा सुखद नतिजासहित अंकतालिकाको शीर्ष स्थानमा पुगेको नेपाल सोमबारको आफ्नो तेस्रो खेलमा आयरल्यान्डसँग ५३ रनमा अलआउट भई ८ विकेटले पराजय भोगेपछि चौथो स्थानमा झरेको हो ।
टी-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटको इतिहासमा दोस्रो सानो स्कोरको रन बनाएका कारण नेपालको रनरेट ऋणात्मक (-१.८३८ं) मा खस्किएको छ । जसका कारण आइतबारसम्म पहिलो स्थानमा रहेको नेपाल चौथो स्थानमा पुगेको हो ।
यद्यपी अंकमा हेर्ने हो भने पपुवा न्युगिनी, नामिबिया र नेपालको समान ३ अङ्क छ । पपुवा न्युगिनीले २ खेलमात्र खेलेको छ भने नामिबिया र नेपाल ३ खेल खेलिसकेका टिम हुन् ।
समुह ‘ए’ को शीर्ष स्थानमा आयरल्याण्ड उक्लिएको छ । पपुवा न्युगिनी दोस्रो स्थानमा छ भने नामिबिया तेस्रो स्थानमा उक्लिएको छ । आइसीसीको नियम अनुसार विश्वकपमा छनोट हुन अंक तालिकाको तेस्रो स्थानसम्म हुनुपर्ने जरुरी हुन्छ ।
प्रतियोगितामा समूहको पहिलो भए विश्वकपका लागि सिधै छनौट हुनेछ । समूह दोस्रो र तेस्रोले एक मौका अझै पाउँछन् । चौथो र त्यसभन्दा मुनि रहने टिमले सिधै घर फर्किनुपर्नेछ ।
समूह दोस्रोले अर्को समूहको तेस्रोसँग र समूह तेस्रोले अर्को समूहको दोस्रोसँग खेलेर विजयी दुई टिम विश्वकपमा छनौट हुनेछ । नेपालले भोली बुधबार हङकङसँग, शुक्रबार पपुवा न्युगिनीसँग र शनिबार जर्सीसँग खेल्न बाँकी छ । जून नेपालले विश्वकपमा पुग्न सबै खेलमा स्पष्ट जित्नुपर्ने आवश्यक छ ।















प्रतिक्रिया