मोरङ, २९ असार । सरसफाई सम्बन्धी काम गर्न मोरङ्गबाट कतार पुगेका एक युवक पाँच महिनादेखि बेपत्ता छन् ।
विराटनगरदेखि दक्षिणको भाथीगछ–७ का २५ वर्षे सियाराम राजवंशीबारे परिवारजनले अहिलेसम्म कुनै पनि खाले सूचना पाएको छैन ।
छोराको राहदानी नम्बर, नागरिकताको प्रतिलिपी र पासपोर्ट साइजको तस्बिर बोकेर पिता राजकुमार राजवंशी जानेबुझेकालाई खोजी दिन आग्रह गरिरहेका हुन्छन् ।
‘यही एउटा तस्बिर छ, काठमाडौं वा कतारतिर कोही चिनेजानेको छ भने बुझिदिनुस् न,’ ६५ वर्षे राजवंशीले भने । उनी पेसाले राजमिस्त्री हुन् ।
उनले भने,‘छोरा र उसँगै कोठामा बस्ने साथीलाई फोन गरेको हो, लाग्दैलाग्दैन ।’
काम गर्न गएको दोस्रो महिना नपुग्दै राति १० बजे शौच गर्न निस्केको छोरा त्यसपछि कोठामा नफर्केको सँगै सुत्ने मित्रको भनाई उद्धृत गर्दै राजवंशीले बताएको समाचार कान्तिपुर दैनिकले छापेको छ ।
उनको बारेमा वैदेशिक रोजगार कम्पनिमा राजवंशी परिवारले निवेदन दिइसकेका छन् ।















प्रतिक्रिया