काठमाडौं, २८ असार । टी–ट्वान्टी विश्वकप छनोट प्रतियोगिताको तेस्रो खेलमा नेपाल आयरल्याण्डसँग ८ विकेटले पराजित भएको छ ।
आयरल्याण्डको घरेलु मैदानमा लज्जास्पद हार व्यहोर्दै नेपाल अन्तर्राष्ट्रिय क्रिकेट इतिहासमै न्यून स्कोरको प्रदर्शन गरेको हो । नेपालले दिएको ५४ रनको झिनो लक्ष्यसहित जवाफी व्याटिङ गरेको आयरल्याण्डले ८ ओभरमा दुई विकेट गुमाएर भेट्टायो ।
आयरल्याण्डको पहिलो विकेट सस्तैमा गुमेको थियो । निल ओ ब्राइनलाई सोमपाल कामीले व्यक्तिगत ३ रनमा आउट गर्दा टीमको स्कोर ४ रन मात्र थियो ।
तर, पल स्टर्लिङ र विलियम पोर्टरफील्डले ४९ रनको साझेदारी गरे । स्टर्लिङ २९ रनमा सोमपालकै बलमा आउट भए । पोर्टरफील्ड १८ रनमा अविजित रहे भने केभिन ओ’ब्राइन १ रनमा अविजित रहे ।
यसअघि टस हारेर व्याटिङको निम्तो पाएको नेपालले चौध दशमलव ३ ओभरमा सबै विकेट गुमाउँदै ५३ रन मात्र जोड्यो । पहिलो विकेट २.६ ओभरमा गुमाउनुअघि नेपालले १८ रन जोडेको थियो जसमा सागर पुनको योगदान रह्यो । उनले ५.४ ओभरमा आउट हुनुअघि २० रन बनाएका थिए । पुनबाहेक कप्तान पारस खड्काले १० जोडे पनि अन्य खेलाडीले दोहोरो अङ्क जोड्न सकेनन् ।
पहिलो विकेटका रुपमा दुई रनमा अनिल मण्डल आउट भएपछि नेपालले लय गुमायो । त्यसपछि क्रिजमा आएका प्रदीप ऐरी शून्य रनमा पेबेलियन फर्के, कप्तान पारस र उपकप्तान ज्ञानेन्द्र मल्लको जोडी जम्ने आशा गरिएको थियो तर अपेक्षाविपरीत पारस १० तथा ज्ञानेन्द्र दुई रनमा आउट भए ।
त्यसपछि मैदान आएका राजेश पुलामी छ, विनोद भण्डारी शून्य, सोमपाल कामी शून्य, वसन्त रेग्मी दुई, शरद भेषवाकर छ, र शक्ति गौचन शून्य रनमा आउट भएपछि नेपाल कम स्कोरमै सीमित भयो ।
आयरल्याण्डका केभिन ओब्राइन र स्टुआर्ड थम्पसानले ३-३ विकेट लिए भने जोन मुनीले २ विकेट लिए ।















प्रतिक्रिया