सिरहा, २८ असार । सिरहाको गागनखोला बगरमा तीन वर्षअघि जिल्ला वन कार्यालयले ११ लाख रुपैयाँ खर्च गरेर १६ हजार बिरुवा रोप्यो। तर, अहिले त्यहाँ एउटा पनि बिरुवाको नामोनिशान छैन ।
जिल्ला वन कार्यालयको जवाफ छ– रोपिएका बिरुवा घेराबारा र हेरालु नहुँदा मरे।
गागनखोला बगरमा वनले ‘नेपाल राष्ट्रपति चुरे संरक्षण कार्यक्रम’ अन्तर्गत वृक्षरोपण गरिएको थियो।
सोही कार्यक्रमअन्तर्गत सिरहाको अन्य तथा सप्तरी र उदयपुरका खोला बगरमा वनले रोपेका बिरुवा पनि अहिले देखिँदैनन्।
सप्तरीको चहका खोला बगरमा तारबार लगाएर जिल्ला वनले दुई वर्षअघि वृक्षरोपण गरेको नागरिक दैनिकले समाचार छापेको छ ।
गत वर्ष पनि त्यही बिरुवा रोपियो। तर, बगरमा खयर र मसलाका बिरुवा रोपिएको संकेतबाहेक केही छैन।
तारबेरा गरिएको यो क्षेत्रको लाज यहाँ उम्रेको घाँसले जोगाइदिएको छ।
टाढाबाट हेर्दा घाँसले बगरै हरियो देखिन्छ। नजिक पुग्दा बिरुवा भने खुट्ट्याउनै गाह्रो।
आर्थिक वर्ष ०६९/०७० मा वनले रूपनगरको पौडी खोला बगरको करिब १० हेक्टरमा १६ हजार बिरुवा रोपेको थियो।
अहिले यो स्थानमा पनि बिरुवा भेटिँदैनन्। ०६८/०६९ मा टिकुलिया गाउँको बलान खोला बगरको १५ हेक्टरमा वनले रोपेका बिरुवाको नामोनिशान छैन। यहाँ रोपिएका करिब २४ हजार बिरुवा बगरमै बिलाएका छन्।
सिरहा, सप्तरी र उदयपुरमा राष्ट्रपति चुरे संरक्षण कार्यक्रम लागू भएयता करिब ६० लाख बिरुवा उत्पादन भएको वनको तथ्यांकमा देखिन्छ। तर, रोपिएका ठाउँ हराभरा हुनुपर्नेमा उजाड छन्।
सप्तरी वनले यो वर्ष करिब ८० लाख रुपैयाँको लागतमा १० लाख बिरुवा उत्पादन गरेको छ।
वन अधिकारीहरूमार्फत उत्पादन गरिएका यी बिरुवा विभिन्न खोलाको बगरमा रोप्ने तयारी भएको वन अधिकृत नन्दलाल रायले जानकारी दिए।
करिब १ सय १६ हेक्टर बगरमा वृक्षरोपण हुने उनले बताए।















प्रतिक्रिया