काठमाडौं, २८ असार । एकीकृत नेकपा माओवादीभित्रको विवाद छताछुल्ल भएको छ ।
एउटै मञ्चमा कार्यकर्ताबीच अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता डा बाबुराम भट्टराईले एक अर्कालाई आइतबार घोचपेच गरेको समाचार सौर्य दैनिकले छापेको छ ।
राजधानीमा अनेरास्ववियु क्रान्तिकारीले गरेको प्रशिक्षण कार्यक्रममा आफ्नो कार्यकर्ताकै अगाडि भट्टराईले नयाँ बनाउनुपर्ने भन्दै अध्यक्ष प्रचण्डलाई व्यंग्य गरे ।
प्रचण्डभन्दा अगाडि बोलेका भट्टराईले पुरानो नेतृत्वले पार्टी अघि बढ्न नसक्ने बताए । उनले भने, ‘महादेवले सतिदेवीको लास बोकेजस्तो गरेर पुरानो नेतृत्वलाई बोकेर काम छैन ।’
राजधानीको नाचघरमा आयोजित कार्यक्रममा अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता भट्टराई र उपाध्यक्ष नारायणकाजी श्रेष्ठ एउटै मञ्चमा थिए ।
प्रचण्डले पार्टीलाई कम्युनिस्ट भन्नसमेत नहुने भइसकेको भन्दै गुटबन्दीको संज्ञा दिए । आफ्नो पालो कुरेर बसेका अध्यक्ष प्रचण्डले पनि भट्टराईप्रति केन्द्रित हुँदै पार्टी स्वार्थ–स्वार्थको गुटजस्तो जस्तो भएको प्रतिक्रिया सोही स्टेजबाट फर्काए ।
‘हाम्रो पार्टी कम्युनिस्ट पार्टी नै भन्न नमिल्ने जस्तै भइसकेको छ,’ उनले भने, ‘स्वार्थै स्वार्थले भरिएको गुटजस्तो भएको छ पार्टी ।’
कार्यक्रममा भट्टराईले आफू अल्छी भएर काम गर्नेलाई दुरुत्साहित पार्ने प्रवृत्ति पार्टीमा विकास भएको भन्दै काम गर्नेविरुद्ध कराएर, सरापेर केही नहुने बताएका थिए ।
भट्टराईले गत मंसिर २८ गते केन्द्रीय समितिको बैठकमा पेस भएको नेतृत्व परिवर्तनसम्बन्धी प्रस्तावबारे छिट्टै निर्णय लिनुपर्ने तर्क गर्दै नयाँ नेतृत्वको मागसमेत गरे ।
अब नयाँ विचारअनुसार संगठन र नेतृत्वको विकास गर्नुपर्ने उनको भनाइ थियो ।
भट्टराईले हलभरि खचाखच भरिएका कार्यकर्ताबीच आफ्नो नेतृत्व परिवर्तनको प्रस्तावमा सहयोग गर्न युवापंक्तिलाई सार्वजनिक आह्वान गर्न भ्याए ।
दाहालले चाहिँ भट्टराईको नयाँ नेतृत्वलाई गुटबन्दीको संज्ञा दिए । उनले भने, ‘हामी नयाँ नयाँ भन्दै हिँडेका छौँ, समानान्तर कमिटी बनाइरहेका छौँ । नयाँ भनेको के हो ? समानान्तर कमिटी हो ? नयाँ भनेको गुटबन्दी हो ?’
दहालले पार्टीभित्र आयोजित छुट्टै भेलाप्रति आक्रोशसमेत पोखे । प्रचण्डले भने, ‘कार्यदिशा एउटै छ तर गुट बनाउन छाडेका छैनौँ, के हो यो ?’ दाहालले आफ्नो पार्टी बुर्जुवाजस्तो बनेको समेत टिप्पणी गर्न भ्याए ।
शान्ति प्रक्रियामा आएपछि सामन्त दलाल र बुर्जुवाहरूसँग उठबस गर्ने क्रममा आफ्नो पार्टी थाहै नपाई बुर्जुवाजस्तो बनेको उनको भनाइ छ ।
प्रचण्डले पार्टी बिग्रिएको समेत स्वीकार भने गरेका थिए । तर, पार्टी बिग्रनुको दोष पनि उनले भट्टराईकै थाप्लोमा खनाए ।
पार्टीमा समानान्तर गुटहरू छन्, एउटा होइन, ८–९ वटासम्म समानान्तर कमिटी छन् एउटा जिल्लामा, यसलाई करेक्सन नगरे पार्टी विघटन हुनबाट कसैले रोक्न सक्दैन ।
यसअघि, राजधानीमा बाबुराम समूहले छुट्टै भेला गरेको थियो ।
उसले दाहाल समूहले छुट्टै भेला गरेर गुटबन्दी सुरु गरेको आरोपसमेत लगाएको थियो । सोही समयदेखि एमाओवादीमा पुनः गुटबन्दी बल्झिएको हो ।















प्रतिक्रिया