४ कार्तिक २०८३, बुधबार

सभासद्ले बाँडेका योजनाहरू ‘दलका कार्यकर्ता र आसेपासेलाई पोस्न’

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

BICC-CA-Nepalबेसीसहर, २७ असार । निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको बजेट बढाउन सभासद्हरूले दबाब बढाइरहेको बेला लमजुङका सभासद्ले बाँडेका विभिन्न योजनाहरू ‘आफ्ना दलका कार्यकर्ता र आसेपासेलाई पोस्न’ खर्च भएको खुलेको छ ।

लमजुङका प्रत्यक्ष निर्वाचित दुई र समानुपातिकका चार सभासद्ले चालू आर्थिक वर्षमा वितरण गरेको योजनाको सदुपयोगबारे प्रश्न उठे पनि सभासद्हरूले अहिलेसम्म कुनै जबाफ नदिएको अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ ।

निर्वाचन क्षेत्र विकास कार्यक्रमअन्तर्गत प्रत्येक प्रत्यक्ष निर्वाचित सभासद्ले आफैं खर्च गर्ने गरी १ करोड रुपैयाँ पाउँछन् भने समानुपातिक सभासद्लाई सरकारले १५ लाख रुपैयाँ बाँड्छ ।

लमजुङ क्षेत्र नं।२ बाट निर्वाचित कांग्रेसका सभासद् चन्द्रबहादुर कुँवरले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमअन्तर्गत खर्च गरेको १ करोड रकममध्ये अधिकांश योजना आफूनिकटका कार्यकर्तालाई बाँडेको देखिएको छ ।

बेसीसहर नगरपालिकाअन्तर्गतको भकुन्डे–चिसापानी–किरिञ्चे सडकखण्डमा उनले १० लाख बजेट छुट्ट्याएका छन् । उक्त योजनाका अध्यक्ष मंगलसिंह गुरुङ कांग्रेस क्षेत्र नं २ का उपसभापति हुन् ।

बेसीसहर–बागलुङपानी–घलेगाउँ सडक मर्मतका लागि छुट्ट्याइएको १० लाख रुपैयाँको योजनाको उपभोक्ता समिति अध्यक्षमा पनि कांग्रेस भुजुङका सभापति मीनबहादुर गुरुङ छन् । सभासद् कुँवरले छुट्ट्याएका सबै १० योजनामा आफूनिकट कार्यकर्ता मात्रै रहेको कांग्रेस पार्टी स्रोतले जनाएको छ ।

क्षेत्र नं १ बाट प्रत्यक्ष निर्वाचित एमालेका सभासद् जमिन्द्रमान घलेले आफ्नो निर्वाचन क्षेत्रमा बाँडेका विकास योजनाको हालत पनि उस्तै छ । उनले ११ लाख रुपैयाँ विनियोजन गरेको खुदी–ढंगै–सिउरुङ–स्याँगे सडक अन्तिम समयमा मात्र सम्झौता भयो ।

एमालेनिकट सुलराम गुरुङ अध्यक्ष रहेको उक्त उपभोक्ता समितिले यतिबेला काम गरिरहेको छ । ‘बेसीसहर–बाँझाखेत–हिले–कार्कीडाँडा–तिलाहार–चिसापानी–माझगाउँ–टक्सार–पुरानोद्वार’ सडकका लागि छुट्ट्याइएको १५ लाखलगायत अधिकांश योजना उनले आफ्ना कार्यकर्तालाई बाँडेका छन् ।

समानुपातिकतर्फका सभासद् दिलबहादुर घर्ती, डा भीष्मनाथ अधिकारी, लालबहादुर गुरुङ र टुका हमालले रकम विनियोजन गरेका अधिकांश योजना पनि कार्यकर्ता पोस्ने खालका पाइएका छन् । केही सभासद्का योजना एनजीओमार्फत सञ्चालन भएको समेत पाइएको छ ।

कांग्रेस लमजुङका सभापति कृष्णप्रसाद कोइरालाले सभासद्हरू विकास निर्माणका ‘ठेकेदार’ जस्तो बन्ने गरेको आरोप लगाए । ‘सभासद्ले आफ्ना कार्यकर्तालाई मात्र योजना दिँदा कार्यकर्ताहरू कागज मिलाएर खान पल्किएका छन्’, उनले भने, ‘सभासद्का योजनाहरूमा चरम दुरुपयोग भएको छ ।’

नीतिनिर्माण गर्न चुनिएका सभासद् विकास निर्माणका ठेकेदार बन्न नहुने उनले बताए ।

एमाले जिल्ला अध्यक्ष धनञ्जय दबाडीले सभासद्ले राजनीतिक पार्टीका आधारमा पक्षपातपूर्ण ढंगले एकपक्षीय रूपमा योजना बाँड्दा समस्या उत्पन्न भएको बताए ।

‘स्थानीय निकाय नै नचाहिनेजस्तो गरी योजना बाँडिएको छ’, उनले प्रश्न गरे, ‘ती योजनाको जबाफदेही को हुन्छ ? ’ उनले संसद् विकास कोषको रकम सभासद्लाई छुट्ट्याए पनि ‘निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम’ भनेर सभासद्पिच्छे छुट्टै रकम छुट्ट्याउनै नहुने तर्क गरे ।

एमाओवादीका अध्यक्ष पारसमणि पौडेलले सभासद्का योजना स्थानीय संयन्त्रलाई समेत वास्ता नगरी एकल रूपमा छनोट हुँदा दुरुपयोगको आशंका बढेको बताए ।