काठमाडौं, २५ असार । वैशाख १२ को विनासकारी भूकम्पपछि नेपाल आएको अमेरिकी समाचार टेलिभिजन च्यानल सीएनएनमा कार्यरत स्वास्थ्य पत्रकार डा.सञ्जय गुप्ताको रिपोर्टिङमाथि छानबिन हुने भएको छ।डा. गुप्ताको रिपोर्टिङमाथि उनी कार्यरत संस्था सीएनएनले नै छानबिन गर्न लागेको हो।
गुप्ताले भूकम्पमा परी घाइते भएकी सलिना दाहालको राष्ट्रिय ट्रमा सेन्टरमा मस्तिष्कको शल्यक्रिया गरेको भन्दै भिडियोसहितको रिपोर्ट सीएनएनबाट प्रसारण गरेका थिए।
त्यसलगतै ट्रमा सेन्टरमा कार्यरत न्युरो सर्जन डा. राजीव झालगायतको टोलीले गुप्ताले ठूलो शल्यक्रिया नगरी सहयोगमात्र गरेको बताउँदै आएका थिए।
ग्लोबल प्रेस इन्स्टिच्युटले गुप्ताले आफूले शल्यक्रिया गरेर बचाएकी भनेकी सलिनाको घर काभ्रे पाँचखाल पुगेर ती बालिकाको कुनै पनि किसिमको शल्यक्रिया नगरेको उनको अभिभावकको भनाइसहितको रिपोर्ट सार्वजनिक गरेलगत्तै सीएननले गुप्ताको रिपोर्टिङबारे छानबिन गर्न लागेको हो।
सीएनएनले विज्ञप्ति जारी गर्दै भनेको छ, ‘ब्रेन सर्जरी पत्रकारिता हैन। ब्रेन सर्जरी ब्रेन सर्जरीमात्र हो। उसको रिपोर्टलाई हामी जाँचबुझ गर्दैछौं।’ इन्स्टिच्युटले सलिनाको परिवार, उपचारमा संलग्न चिकित्सक, घाइते र घाइतेका परिवारसँग गरेको कुराकानीपछि उनको टाउकोमा चोट नलागेको र गुप्ताले अर्की १४ वर्षीया सामान्य बिरामीलाई सहयोग गरेको खुलेको थियो।
सीएनएनमा बुधबार बिहान प्रसार हुने न्यु डे कार्यक्रममा सहभागी हुँदै गुप्ताले ‘८ बर्से बालिका नभए तापनि सोही अस्पतालमा अर्की १४ बर्से किशोरीलाई शल्यक्रिया गरेको’ स्पष्टीकरण दिएका छन्। वीर अस्पतालको वातावरण अस्तव्यस्त भएकाले आफू धेरै कुरामा स्पष्ट नभएको उनको भनाइ थियो । आजको अन्नपूर्ण पोष्टमा समाचार छ ।















प्रतिक्रिया