काठमाडौं, २४ असार । पुरानादेखि नयाँ पुस्ताका कलाकारका लागि भेटघाटको हब बनिरहेको छ, अनामनगरस्थित मण्डला थिएटर परिसर । सौर्य दैनिक अगाडि लेख्छ, फिल्मको स्क्रिप्टको छलफल होस् या फिल्म, टेलिफिल्म या कुनै कार्यक्रमको सरसल्लाह गर्न प्रायः कलाकार यहाँ भेला हुन्छन् ।
अझ कमेडियन कलाकार त आफ्ना सहकर्मी कलाकारलाई बोलाएर यहाँ भावी योजनाबारे छलफल पनि गर्छन । कमेडियन र कलाकारको भेटघाट भइरहने यो थलोमा बुधबार भने केही समयदेखि टेलिभिजनका पर्दाबाट हराइरहेका कमेडियन कमल गाउँले भेटिए ।
कोठे चेक सर्ट, स्पोर्ट सुज, रेबनको ग्लासमा ठाँटिएर पल्सर बाइकमा आएका उनलाई सुरुमा चिन्न हम्मे नै पर्यो । केही मोटाएको शरीर लिएर आएका उनी निकै हतारोमा पनि देखिन्थे ।
चर्चित हास्य टेलिश्रृंखला ‘तीतो सत्य’मा दीपाश्री निरौलाको ‘जेठा दाइ’को भूमिका होस् या चर्चित गीत ‘गर्नु गर्यौँ बलराम भैँसी पालेर’मा बलरामको भूमिकामा देखिने पुरुष, दुवै भूमिकामा दमदार अभिनय गरेका कमल केही समय गुमनामझैँ थिए ।
‘यसो घर परिवारलाई पनि हँसाइरहनुपर्यो नि, त्यसैले परिवार हँसाउन गाउँघरतिरै थिएँ,’ एक वर्ष यता सार्वजनिक कार्यक्रम होस् या टेलिभिजनका कार्यक्रममा नदेखिएका कमलले कारण खुलाए, ‘भूकम्पपछि पीडितलाई राहत जुटाउन गाउँघरमै व्यस्त बनेँ ।’ २२ वर्षे जवान युवा जत्तिकै ठाँटिएर काठमाडौं आउने उनको अर्को कारण पनि रहेछ ‘गाईजात्रे सिजन’ ।
पुख्र्यौली घर दाङ भएका कमलले आफ्नो १५औँ गाईजात्रे एल्बम श्रोतामाझ दिनका लागि केही दिनअघि मात्र राजधानी छिरेका रहेछन् ।
‘गाईजात्रा एल्बम बिक्री हुन छाड्यो तैपनि संस्कृति बचाइराख्न एल्बम निकालेको हुँ,’ उनले भने, ‘अहिलेसम्म निकालेका सबै एल्बमलाई दर्शकले रुचाइदिई रहनुभएकाले नयाँ एल्बममा पनि त्यस्तै आश गरेको छु ।’ उनको एल्बमलाई बूढासुब्बा म्युजिक सेन्टरले चाँडै नै बजारमा ल्याउँदै छ ।
आफू व्यंग्यकै क्षेत्रमा रहेकाले पनि उनी व्यंग्य सधैँ मर्यादित र समाजसुधारका पक्षमा हुनुपर्ने कुरामा जोड दिन्छन् । ‘रातारात चर्चित हुन हँसाउनकै लागि अनेक हतकन्डा अपनाउने पनि यहीँ छन्’, केही गम्भीर हुँदै कमलले सुनाए, ‘वास्तवमा स्वस्थ्य व्यंग्यका लागि कलाचेत र अथक मेहनत चाहिन्छ ।’
दाङदेखि काठमाडौं आएर अनवरत संघर्ष गरेरै हास्यव्यंग्यका क्षेत्रमा स्थापित हुन सफल भएको ठान्ने गाउँले निरंकुशताको विपक्षमा ज्याँदै कष्टकर समयमा पनि व्यंग्यकै माध्यमलाई अँगालेर आन्दोलन गरेको स्मरण गर्छन् । ‘त्यही संघर्षले व्यंग्य क्षेत्रप्रति आफू सदैव इमानदार छु ।’ उनको दाबी छ ।
समाजका अकर्मण्यता र अस्तव्यस्ततालाई तिखो व्यंग्य प्रहार गरेपछि मात्र सुधार हुने मान्यता राख्ने गाउँले अहिलेको समयमा चाहिँ नीतिनिर्माताहरू स्वदेशी मौलिक संस्कृतिलाई बेवास्ता गर्दै आयातित विदेशी संस्कृतिततर्फ लहसिएकोमा दुखित छन् ।















प्रतिक्रिया