पर्वत, २३ असार । नाङलिबाङ गाविसका ७७ वर्षीय वृद्ध हर्कबहादुर नेपाली बिहानै उठेपछि गाउँको अग्लो डाडाँमा पुग्छन् र सुन है गाउँले हो भन्दै घोक हाल्न थाल्छन् ।
उनले यसरी गाउँलेलाई भेला पार्न सूचना दिनका लागि घोक हाल्न थालेको पाँच दशक पुगेको समाचार सौर्य दैनिकले छापेको छ ।
मामाको शेखपछि अंगालेको कटुवाल पेसाले परिवार पाल्दै आएका यी वृद्धलाई यति बेला भने पेसाको कमाइले पेट पाल्नै गाह्रो भएको छ ।
पहिले कुटवालको कमाइले परिवार चले पनि अहिले पारिश्रमिक थोरै भएको उनको गुनासो छ ।
पहिले हरेक घरमा पुगेर धान, मकै, कोदो, गहुँजस्ता अन्नबाली पाथीका दरमा उठाउँदा पनि गाविसका सबैघरबाट आउँदा केटाकेटी पाल्न गाह्रो नभएको तर अहिले गाविसले वार्षिक रूपमा २६ हजार मात्रै दिने गरेको उनी बताउँछन् ।
‘पहिले सबै घरधुरीबाट पाथी अन्न उठाउँदा धेरै कमाइ हुने गथ्र्यो,’ नेपालीले भने, ‘अहिले गाविसले दिएको नगदले पेट पाल्नै धौधौ भएको छ ।’
नेपालीले २५ वर्षको उमेरदेखि गाउँमा कटुवालको काम गर्दै आएका हुन् ।
विसका दुई वडाबाहेक सबै वडामा गाउँ विकास समितिको बैठकको चिठी पु-याउनेदेखी, भेला बैठक, सभा समारोह, वन गोडमेल, सिँचाइ कुलो होस कि खानेपानी मर्मतका लागि जनसहभागिता जुटाउन घोक हाल्ने काम सबै उनकोे जिम्मामा छ ।
त्यसबापत उनले गाउँलेकहाँ वार्षिक दुई पाथी धान, एक पाथी मकै, कोदो र गहुँ उठाउने गरेको जानकारी दिए । त्यसबखत हरेक घरबाट पाथी अन्न उठाउँदा पनि वर्ष दिनका लागि अन्न पुग्ने गरेको अनुभव उनको छ ।
उनका दुई छोरा र बुहारी छन् । अहिले छोराबुहारीको साहरामा बस्दै आएका नेपालीले बताए ।
‘केही वर्षदेखि गाविसले वार्षिक रूपमा २६ हजार रुपैयाँ दिने गरेको छ । यो रकम साह्रै थोरै भयो,’ उनले भने, ‘गाविसले अलि बढी रकम बढाउनुप-यो’ ।
गाविस सचिव र सामाजिक परिचालकको अनुपस्थितिमा पनि यी वृद्धले गाविसको कार्यालय खोल्ने काम नियमित रूपमा गर्दै आएका छन् ।
नाङलिबाङ गाविसका सचिव मोहदत्त पौडेल आफू भरखर गाविसमा आएकाले सबै कुरा बुझ्न बाँकी रहेको बताउँछन् । उनले समयानुकूल पारिश्रमिक वृद्धि गरिँदै लैजाने जानकारी दिए । ‘सबै कुरा बुझेपछि पारिश्रमिक र अन्य विषयमा निर्णय गर्न सकिन्छ,’ उनले भने ।
अहिले गाउँघरमा पनि आधुनिक सञ्चारका साधनको पहुँच पुगेको छ । गाउँघरका युवादेखि वृद्धहरू हातमा पनि मोबाइल र इन्टरनेटमा रमाउन थालेका बेला सूचना दिनका लागि कटुवाल राख्ने प्रथा भने अहिले पनि हट्न सकेको छैन ।
पर्वतको नाङलिबाङ गाविसमा मात्रै होइन, सदरमुकाम वरपरका गाउँमा पनि सूचना पुराउन निरन्तर रूपमा कटुवालले काम गर्दै आएका छन् ।
हरेक गाउँमा एफएफ, केबुल टेलिभिनको सुविधा पुगेकाले सूचनाका लागि यस्ता साधनको प्रयोग गर्नु पर्ने सुझाव पनि आउन थालेको छ ।















प्रतिक्रिया