काठमाडौं, २१ असार । राप्रपा नेपालले संविधानको प्रारम्भिक मस्यौदामा उल्लेखित धर्मनिरपेक्षता प्रमुख दलका शीर्ष नेताहरूलाई प्रभावमा पारी पश्चिमा राष्ट्रहरूको योजनामा लादिएको आरोप दोहर्याएको छ ।
असार १ गतेदेखि जारी केन्द्रीय समितिको बैठकको निर्णय सार्वजनिक गर्न आइतबार पार्टी कार्यालय धुम्वाराहीमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष कमल थापाले मस्यौदा समितिले गरेका विभिन्न निर्णयहरू उल्ट्याउँदै रातारात विवादित विषयहरू मस्यौदामा समेटिएको बताएको समाचार सौर्य दैनिकले छापेको छ ।
‘केही राजनीतिक दलले संविधानसभालाई रबरस्ट्याम्प बनाइ संविधान मिच्ने र सर्वोच्च अदालतको अन्तरिम आदेशको समेत अवमूल्यन गरेका छन्’, उनले भने, ‘बहुलवादलाई हटाउने साथै समाजवाद र धर्मनिरपेक्षता जस्ता विवादित विषय घुसाउने काम बहुमतको आडमा स्वयच्छाचारिता लाद्ने षड्यन्त्र हो ।’
संविधान विभिन्न वाद र सिद्धान्तलाई समान र न्यायपूर्ण स्थान दिइने दस्तावेज हुनुपर्नेमा सीमित दलको आस्थालाई मात्रै समेटेर जान खोजिएको थापाको तर्क छ । प्रमुख दलको स्वार्थअनुरूप संविधान बनाउने चलखेल बढेको आरोप लगाउँदै राप्रपा नेपालले संघर्षका कार्यक्रमसमेत सार्वजनिक गरेको छ ।
संर्घषका कार्यक्रमअन्तर्गत असार २२ गते सम्पूर्ण जिल्लाका सदरमुकाममा जुलुस र सभा हुने राप्रपा नेपालले जनाएको छ ।
साउन पहिलो सातादेखि राजधानी केन्द्रित संघर्षका कार्यक्रम गरिने अध्यक्ष थापाले बताए ।
राप्रपा नेपालको बैठकले भूकम्पपीडितको सहायताका लागि महामन्त्री चन्दबहादुर गुरुङको संयोजकत्वमा महाभूकम्पपीडित सहायता अक्षयकोष निर्माण गरेको जनाएको छ । कोषमा न्यूनतम एक करोड संकलन गर्ने लक्ष्य राप्रपा नेपालको छ ।















प्रतिक्रिया