काठमाडौं, २० असार । भारतीय राजदूत रञ्जित रेले संविधानसभामा प्रस्तुत संविधानको प्रारम्भिक मस्यौदाबाट मधेसवादी दललाई पर्न गएको मर्काबारे आफूले नेपाल सरकारसँग कुरा गर्ने आश्वासन दिएका छन् ।
मस्यौदाको विरोधमा आफूहरुले गर्न लागेको आन्दोलनमा सहयोग गर्न मधेस केन्द्रित दलले गरेको आग्रहमा भने राजदूत रे मौन बसे ।
काठमाडौंस्थित भारतीय दूतावासमा शुक्रबार पुगेका ६ वटा मधेसकेन्द्रित नेतासँग राजदूत रेले विगतमा नेपाल सरकार र मधेसवादी दलबीच भएको सम्झौताअनुकुल मस्यौदामा परिमार्जन गराउन आफूले पहल गर्ने बताएका थिए ।
आन्दोलनमा सघाउन मधेसकेन्द्रित दलले गरेको आग्रहप्रति सहानुभूति राखे पनि रेले त्यसबारे कुनै जवाफ नदिएको स्रोतले बतायो ।
रेको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो,‘संविधानसभामा छलफल जारी रहेको संविधानको मस्यौदाबाट तपाईंहरुलाई परेको मर्का मैले बुझेको छु । यस विषयमा नेपाल सरकारसँग तत्काल कूटनीतिक पहल गरिनेछ । भारत सरकारलाई यसबारे जानकारी दिनेछु ।’ आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।















प्रतिक्रिया