काठमाडौं, २० असार । एकीकृत नेकपा माओवादीमा गुटगत विवाद फेरि बल्झिएको छ । बाबुराम पक्षले राजधानीमा शनिबार छुट्टै प्रशिक्षण चलाएसँगै एमाओवादीभित्रको प्रचण्ड– बाबुराम विवाद पुनः चर्किएको समाचार आजको सौर्य दैनिकले छापेको छ ।
बाबुराम पक्षको समानन्तर काठमाडौं जिल्ला समितिले शनिबार वानेश्वरको थापा पार्टी प्यालेसमा छट्टै भेला गरेको छ । उनी पक्षधरले सो भेला पार्टीको आधिकारिक भएको र केही दिनअघि अध्यक्ष दाहाल पक्षधरले गुटगट भेला चलाएको आरोपसमेत लगाएको छ ।
अध्यक्ष पुष्पकमल दाहाल पक्षधरले भने भेला अवैधानिक भएको भन्दै भेला गर्नेलाई कारबाहीको मागसमेत गरेका छन् ।
काठमाडौं जिल्ला समिति अध्यक्ष हिमाल शर्माले यसअघिको भेलामा सबैलाई जानकारी गराए पनि ६ जना मात्रै नआएको र सो भेला आधिकारिक भएको जिकिर गरे ।
‘निर्वाचित अध्यक्ष म हुँ, शर्माले भने, ‘उहाँहरूको समिति नै आधिकारिक छैन, त्यस्तो समितिले बोलाएको भेला कसरी वैधानिक हुन्छ, हुनै सक्दैन ।’
शर्माले गुटगट भेला गर्नेलाई पार्टीले कारबाही नगरेको र आफूलाई पनि कारबाही गर्न नदिएको भन्दै आफूमाथि पार्टीले अन्याय गरेको दुखेसोसमेत व्यक्त गरे ।
उनले भने, ‘म गलत छु भने मलाई कारबाही गरियोस होइन भने गुटगत भेला गर्नेलाई कारबाही गर्न माग गर्छु ।’
यता, बाबुराम पक्षबाट समानन्तर काठमाडौं जिल्ला समिति अध्यक्ष बनाइएका महेन्द्र श्रेष्ठले प्रचण्ड पक्षधरले यसअघिको भेलामा सबैलाई नबोलाएपछि प्रशिक्षण गरिएको बताए । प्रशिक्षकमा बाबुराम, कृष्णबहादुर महरा, टोपबहादुर रायमाझीलाई बोलाएको भन्दै उनले भेला पार्टीको वैधानिक भएको जिकिर उनको छ ।
राष्ट्रिय विपत्को बेला पार्टीभित्र नै संघर्ष गरेर केही नहुने भन्दै उनले पार्टी रूपान्तरणको आवश्यकता रहेको समेत बताए ।
बाबुराम पक्षधरले लामो समयदेखि पार्टीमा रूपान्तरणको आवाज उठाउँदै आएको छ । उसले नेतृत्व दोस्रो पुस्तालाई हस्तान्तरण गर्नुपर्ने मागसमेत पार्टीभित्र उठाउँदै आएको छ । शनिबारको भेलामा उपाध्यक्ष डा बाबुराम भट्टराईले पार्टी नयाँ ढंगले नचलाए हैसियत नै खस्किने भन्दै नेतृत्वको आलोचना गरेका थिए ।
अध्यक्ष दाहालले विवाद चर्किएको बेला नयाँ पार्टी निर्माणका लागि विभिन्न विकल्पमा सहमति जनाएको भए पनि कार्यान्वयन नगर्ने गरेको भन्दै भट्टराईले आलोचना गरेका थिए ।
राजधानीको थापा गाउँमा उपत्यकास्तरीय राजनीतिक तथा वैचारिक प्रशिक्षण नाम दिइएको कार्यक्रममा उपत्यकाका तीनवटै जिल्लाका भट्टराई पक्षधर नेता तथा कार्यकर्ताको बाक्लो उपस्थिति थियो । दुई साताअघि एमाओवादी महासचिव कृष्णबहादुर महराले यस्तैखाले प्रशिक्षण गरेका थिए ।















प्रतिक्रिया