काठमाडौँ, १९ असार । प्रहरीले भूकम्पपछि जिल्ला कारागार सिन्धुपाल्चोकबाट फरार रहेका काभ्रे तिमाल-९ घर भएका सन्की भन्ने रावणजीत तामाङलाई पक्राउ गरेको छ ।
सुन्धारास्थित वेवीलोन डिस्कोमा तामाङलाई शनिबार नियन्त्रणमा लिएर आउने क्रममा तामाङका साथीहरुले अवरोध खडा गरी प्रहरी टोलीमाथि हुलहुज्जत एवम् हातपातसमेत गरेर भगाएपछि प्रहरीले गोली हान्दा तामाङको बायाँ खुट्टामा गोली लागेको थियो ।
महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले पक्राउ गर्ने क्रममा अवरोध गर्ने उमेश श्रेष्ठलाई समेत पक्राउ गरेको छ । श्रेष्ठ विगतमा अपहरणलगायत विभिन्न अपराधिक घटनाहरुमा समेत संलग्न रहेको खुल्न आएको छ ।
लागुऔषध मुद्दामा काठमाडौँ जिल्ला अदालतको फैसलाले १० वर्ष कैद ठहर भएका तामाङ गत वैशाख १२ गतेको भूकम्पको समयमा कारागारबाट भागी फरार रहेका थिए ।
घाइते तामाङलाई प्रहरीले उपचारका लागि वीर अस्पताल लैजानुका साथै यस सम्बन्धमा अन्य आवश्यक अनुसन्धान गरिरहेको महाशाखाका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक सर्वेन्द्र खनालले जानकारी दिनुभयो । रासस















प्रतिक्रिया