जनकपुर, १९ असार । पचपन्न वर्षीया सारदा भट्टराईले पहिलो पटक श्रीमान्को नाउँ लेख्न सिखेपछि उनी अहिले खुसीले दङ्ग हुनुभएको छ । उहाँलाई श्रीमान्को नाउँ लेख्ने साइत जुडाइ दिएको छ मिथिलाञ्चल विकास केन्द्रले सञ्चालन गरेको साक्षरता अभियान कक्षाले ।
जनकपुर उपमहानगरपालिका–१४ बस्ने भट्टराई जीवनको उत्तरार्धमा आएर पहिलोचोटी श्रीमान्को नाउँ लेख्ने जीवनको सबभन्दा ठूलो उपलब्धि हासिल गरेको बताउनुभयो । भट्टराईकै दौतरीको रुपमा साक्षरता अभियान कक्षामा पढ्ने गरेकी ६२ वर्षीया रामदुलारी खत्बेले आफ्नो नाउँ मात्र लेख्न सिकिन बरु मोबाइल चलाउन पनि जान्नु भयो ।
सरकारले सन् २०१७ सम्ममा पूर्ण साक्षरता बनाउने उद्देश्यले सञ्चालन गरेको साक्षरता अभियान कक्षामा धनुषा जिल्लामा एक लाख ४२ हजार निरक्षरलाई साक्षर बनाउने अभियान सञ्चालन भएको छ ।
मिथिलाञ्चल विकास केन्द्रले सञ्चालन गरेको ६७ वटा साक्षर अभियान कक्षाबाट एक हजार ३४० महिला पुरुष कखरा सिकेर साक्षर भएको केन्द्रका अध्यक्ष महाशङ्कर ठाकुरले बताउनुभयो ।
दलित भएकै कारण आर्थिक अभाव र कमजोर पारिवारिक संरचनाका कारण सानोमा अक्षर चिन्न नपाउनुभएका जनकपुर उपमहानगरपालिका–१२ बस्ने ५५ वर्षीया सतिया महरा भन्नुहुन्छ– “गरिबीका कारण सानो उमेरमा कक्षाकोठाको आँखा नदेखे पनि बूढेसकालमा कक्षामा बस्न र पढ्न पाएकामा धेरै खुसी लागेको छ । साक्षरता अभियान कक्षामा बसेर साक्षर हुने मौका पाएकामा वृद्धवृद्धा खुसी मात्र भएका छैनन् यस्तो साइत जुडाइ दिने मिथिलाञ्चल विकास केन्द्रप्रति धन्यवाद दिँदै फेरि पनि यस्तो कक्षा सञ्चालन होस् र हामी पढ्न पाउँ भने आश गरेका छन् । रासस















प्रतिक्रिया