गजुरी (धादिङ), १९ असार । उत्तरको अति विकट स्थानबाट विस्थापित भएर सदरमुकाम आसपासमा बस्दै आएका मानिस बिरामी पर्न थालेका छन् ।
भूकम्पका कारण घर भत्किएको र त्रिपालमा समेत गाउँमै बस्दा पहिरोले पुर्ने सम्भावना भएपछि उनीहरु विस्थापित भएर सदरमुकाम नजिकै अस्थायी टहरा बनाएर बस्दै आएका हुन् । केहीलाई रुघाखोकी लागेको र धेरैजसोलाई रगतमासी परेको लापा गाविसको कपुरगाउँबाट विस्थापित भएर साङ्कोषमा बस्दै आउनुभएका रामबहादुर तामाङले बताउनुभयो ।
सुत्केरी अवस्थामा रहेकी चिनीमाया तामाङ एक हप्तादेखि रगतमासी परेर उठ्न समेत नसक्ने अवस्थामा पुगेकी छिन् । उनलाई यतिबेला चिसोबाट बच्ने गरी सुरक्षित गरिनुपर्छ तर विस्थापित जीवन बिताइरहेको बेला स्वास्थ्य अवस्था बिग्रिएको हो । घरबाट केही ल्याउन नसकेको र दातृ निकायले सुत्केरीका लागि आवश्यक सामग्री नदिएकाले साङ्कोषको कुमालगाउँमा बसेका विस्थापितको अवस्था नाजुक बन्दै गएको अर्की बिरामी सुत्केरी बुकीमाया तामाङको भनाइ छ ।
साङ्कोषको कुमालटोलमा अर्काको जग्गामा बस्दै आएका १३३ परिवारमध्ये अधिकांश बिरामी परेर समस्या देखिएको रामबहादुर तामाङको भनाइ छ । यहाँ २५ जना सुत्केरी र छ गर्भवती रहेका छन् । उनीहरुको अवस्था बिग्रँदै गएको देखिन्छ ।
सभासद् धनबहादुर घलेले उपलब्ध गराएको ८० बोरा चामलको भरमा नुन हालेको भात खाएर गुजारा चलाएको उनीहरुको गुनासो छ । सरकारले विस्थापितलाई सुरक्षित स्थानमा राख्ने भन्ने निर्णय गरे पनि आफूहरुलाई परेको समस्यामा सहयोग गर्न नआएकोप्रति शिविरमा बसेकाहरुले गुनासो गरेका छन् ।
धादिङमा यस्ता आठ शिविरमा विस्थापितहरु बस्दै आएको र उनीहरुको समस्या समाधान गर्न लागिपरेको सहायक प्रजिअ नन्दलाल शर्माले बताउनुभयो । रासस
















प्रतिक्रिया