काठमाडौँ, १९ असार । कारागारबाट फरार कैदी काठमाडौँको एउटा डिस्कोमा मस्ती गरिरहेको अबस्थामा भेटिएपछि पक्राउ गर्ने क्रममा प्रहरीले गोली नै चलाउनु परेको छ ।
भूकम्पपछि सिन्धुपाल्चोक कारागारबाट भागेका कैदी सन्की भन्ने रावणजीत तामाङ्गलाई पक्राउ गर्ने क्रममा काठमाडौँको सुन्धारास्थित बेबीलोन डिस्कोमा गोली चलेको हो । लागूऔषध मुद्दामा काठमाडौँ जिल्ला अदालतको फैसलाले १० वर्ष कैद सजाय पाएका उनी बैशाख १२ गतेको भूकम्पको बेला सिन्धुपाल्चोक कारागारबाट भागेका थिए ।
अपराध महाशाखाका डिएसपी रमेश थापाको नेतृत्वमा खटिएको टोलीले खोजतलास गर्ने क्रममा शुक्रबार मध्यराति पौने एक बजे तामाङ फेला परेका थिए । तर, पक्राउ गरी कार्यालयतर्फ ल्याउने क्रममा उनी र उनका साथीहरुले अबरोध खडा गरी भगाएका थिए ।
पटकपटक कैदीलाई भगाउन खोजिएपछि अपराध नियन्त्रण महाशाखाका प्रमुख वरिष्ठ उपरीक्षक सर्वेन्द्र खनाल आफै डिस्कोमा पुगेका थिए । उनले चेतावनी दिँदादिदै पनि भाग्न खोजेपछि नियन्त्रणमा लिन प्रहरीले वाध्य भएर गोली चलाउनु परेको महाशाखाले जनाएको छ ।
नियन्त्रणमा लिन अन्तिम उपाय स्वरुप प्रहरीले सानो चाईनिज पेस्तोलबाट ३ राउण्ड गोली फायर गर्दा कैदी तामाङको बाँया खुट्टामा गोली लागेको छ । उनलाई प्रहरीले नियन्त्रणमा लिई तत्काल नै उपचारका लागि बीर अस्पतालमा लगिएको महानगरीय प्रहरीले जनाएको छ ।
.फरार कैदीलाई पक्राउ गर्न अवरोध गरी भगाउन खोज्ने उमेश श्रेष्ठ र डिस्को संचालकलाई समेत पक्राउ गरी माहाशाखामा नियन्त्रणमा राखी आवश्यक अनुसन्धान गरिएको महाशाखाले जनाएको छ ।
















प्रतिक्रिया