– आनन्द पोखरेल
चितवन, १८ असार । चितवनमा सञ्चालनमा आएका निजी उच्च माविहरुले प्रवेश परीक्षाको नाममा विद्यार्थीसँग असुलेको बढी रकम फिर्ता गरेका छैनन् ।
चितवनका निजी उच्च माविहरुले विद्यार्थीसँग कक्षा ११ को प्रवेश परीक्षाको लागि तीन सय रुपैयाँ असुल गरेका थिए । असार ८ गते उच्च माध्यमिक शिक्षा परिषद्को बैठकले कक्षा ११ को प्रवेश परीक्षा फारम २५ रुपैयाँ र परीक्षा शुल्क सय रुपैयाँ मात्र लिनको लागि उच्च माध्यमिक विद्यालयहरुलाई सूचना जारी गरेको थियो । परिषद्ले तोकेको भन्दा बढी रकम लिएका उच्च माविहरुलाई बढी रकम तुरुन्त फिर्ता गर्न निर्देशन दिएको थियो ।
चितवनका उच्च माध्यमिक विद्यालयहरुले प्रवेश परीक्षा शुल्कको नाममा लिएको बढी रकम प्रवेश परीक्षाको दिनमा फिर्ता गर्ने जनाएका थिए । तर कुनै पनि उच्च माध्यमिक विद्यालयले प्रवेश परीक्षाको दिनमा रकम फिर्ता नगरेका विद्यार्थीहरुले गुनोसो पोखेका छन् । प्रवेश परीक्षाको दिनमा सबैको ध्यान परीक्षा लिनमा नै केन्द्रित भएको कारण विद्यार्थीलाई शुल्क फिर्ता गर्न नसकिएको निजी विद्यालय सञ्चालकहरु बताउँछन् ।
चितवनमा हिसान अन्तर्गत १४ वटा निजी विद्यालयहरु छन् । एसओएस हर्मन माइनर उच्च मावि र बाल्मीकि शिक्षा सदन उच्च मावि जस्ता निजी विद्यालयहरु हिसानमा आवद्ध भएका छैनन् । चितवनका हिसानमा आवद्ध र त्यस बाहिरका सबै निजी विद्यालयहरुले प्रवेश परीक्षाको नाममा विद्यार्थीसँग प्रति विद्यार्थी तीन सय रुपैयाँ असुलेका थिए ।
हिसान चितवनका अध्यक्ष भूपेन्द्र धितालले चितवनमा तीन हजार भन्दा बढी विद्यार्थीहरुले कक्षा ११ को प्रवेश परीक्षा दिएका बताउँछन् । धितालको भनाइलाई आधार मान्दा यहाँका निजी उच्च माविहरुले कक्षा ११ को प्रवेश परीक्षा लिँदा विद्यार्थीहरुसँग नौ लाख रुपैयाँ असुल गरेका छन् । उच्च माध्यमिक शिक्षा परिषद्को निर्देशन अनुसार निजी उच्च माविले कक्षा ११ को प्रवेश परीक्षा दिएका करिब तीन हजार विद्यार्थीलाई पाँच लाख २५ हजार रुपैयाँ फिर्ता गर्नुपर्ने देखिन्छ ।
उच्च मावि शिक्षा परिषद्को सूचना ढिला आएका कारण आफूहरुले प्रवेश परीक्षा वापत प्रति विद्यार्थी तीन सय रुपैयाँ लिएको हिसान चितवनका अध्यक्ष भूपेन्द्र धितालले बताए । ‘हामीले बढी लिएको शुल्क विद्यार्थीलाई फिर्ता गर्ने भनेका छौँ’ धितालले भने, –‘यो प्राविधिक समस्या हो, नियतबस हामीले पैसा फिर्ता गर्न ढिलाई गरेका होइनौँ ।’ विद्यार्थीले प्रवेश परीक्षा दिँदा लिएको रसिद लिएर सम्बन्धित विद्यालयमा गएमा बढी लिएको शुल्क फिर्ता हुने धितालले बताए ।
चितवनका सबै निजी उच्च माविले कक्षा ११ को प्रवेश परीक्षा लिइसकेको र बढी भएको रकम पनि फिर्ता गर्दै आएको धितालले बताए । रत्ननगरमा रहेको न्यू क्यापिटल कलेजले विद्यार्थीसँग बढी लिएको शुल्क फिर्ता गरेको र लिन बाँकी भएका विद्यार्थीलाई रसिद लिएर प्रशासनमा सम्पर्क गर्न समेत धितालले आग्रह गरे ।
त्यसैगरी, बाल्मीकि शिक्षा सदन उच्च मावि भरतपुरका प्राचार्य देशबन्धु अधिकारीले शिक्षा परिषद्ले सूचना निकाल्न भन्दा अगाडि नै प्रवेश परीक्षा सकेको बताए । ‘परीक्षा पनि सकियो, रिजल्ट पनि भयो, यहाँ नाम निस्केका विद्यार्थीको लागि पछि सम्बोधन गर्छौँ’ अधिकारीले भने, –‘हामीले बढी लिएको शुल्क फिर्ता गर्दैनौँ भनेको छैनौँ, यहाँ नपढ्ने विद्यार्थीको लागि पनि पछि सम्बोधन गर्छौँ ।’
क्षेत्रपुरमा रहेको एपेक्स उच्च माविका प्राचार्य अरुण कुमार श्रेष्ठले प्रवेश परीक्षामा बढी लिएको रकम विद्यार्थीको भर्ना गर्दा घटाएको बताए । ‘यहाँ भर्ना भएका विद्यार्थीलाई भर्ना गर्दा शुल्क घटाएर लिएका छौँ’ श्रेष्ठले भने, –‘नाम ननिस्केका विद्यार्थीहरुको पनि फिर्ता गर्छौँ ।’ प्रवेश परीक्षाको लागि पैसा बुझाएको रसिद लिएर गएमा बढी लिएको रकम विद्यार्थीलाई फिर्ता गर्ने श्रेष्ठले बताए ।
















प्रतिक्रिया