काभ्रे, १७ असार । प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले भूकम्पपछि महिला, बालबालिकाको बेचबिखन र ओसारपसार रोकथामका लागि प्रहरी क्रियाशील रहेको बताउनुभएको छ ।
प्रहरीको अपराध अनुसन्धान विभागले आज आयोजना गरेको मानव बेचबिखन तथा ओसारपसारविरुद्ध जनचेतनामूलक कार्यक्रममा महानिरीक्षक अर्यालले पहिले भारतमा लगेर नेपाली महिलाको बेचबिखन हुने गरेकामा अहिले तान्जानिया र केन्यासम्म बेचबिखनका लागि लैजाने फरक शैलीको विकास हुँदा यसको नियन्त्रण थप चुनौतीपूर्ण हुँदै गएको बताउनुभयो ।
महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालयका सहसचिव राधिका अर्यालले मन्त्रालयले अर्को व्यवस्था नभएसम्मका लागि नयाँ बालगृह सञ्चालनमा रोक लगाउने, जिल्ला बाल कल्याण समितिको अनुमतिबिना बालबालिका स्थानान्तरण गर्र्न नपाइने र अबका तीन महिना अन्य देशमा धर्मपुत्रपुत्रीका रुपमा बालबालिका लैजान रोक लगाएको जानकारी दिनुभयो ।
काठमाडौँ विवि पूर्वउपकुलपति डा सुरेशराज शर्माले महिलालाई अनिवार्य शिक्षा दिनु र सशक्तीकरण गर्नु नै बेचबिखन रोक्ने उपयुक्त उपाय भएको बताउनुभयो ।
काभे्रपलाञ्चोकका प्रजिअ सुदर्शन ढकालले भूकम्पछि जिल्लाका घर भत्किएर पालको बास भएको अवस्थामा महिला र बालबालिकाको सुरक्षा प्रमुख चिन्ताको विषय भइरहेको बताउनुभयो । कार्यक्रममा महिला बेचविखनविरुद्धका वृत्तचित्र र साँस्कृतिक कार्यक्रम प्रदर्शन गरिएको थियो ।
















प्रतिक्रिया