मेदान, १७ असार । गत मङ्गलबार इन्डोनेसियाली वायुसेनाको एक विमान इन्जिन फेल भएका कारण भीषण दुर्घटना परेको जनाइएको छ । यस दुर्घटनाबाट १४२ व्यक्ति ज्यान गुमाएका छन् ।
इन्जिन फेल भएकाले नै १४२ व्यक्तिले ज्यान गुमाउनुपरेको वायु सेनाले बिहीबार जानकारी दिएको छ ।
सुमात्रा द्वीपमा रहेको मेदान नगरबाट हर्कुलस सी–१३० नाम गरेको विमान उडेको केही समयमा नै आवासीय क्षेत्रमा खसेको थियो । विमान नगरमा खसेपछि त्यहाँका कैयौँ भवन भग्नावशेषमा परिणत भएको तथा सवारी साधनहरूमा आगो थियो ।
वायु सेनाका उपसभापति आगुस् द्वी पुत्रान्टोले समाचारदाताहरुलाई ५१ वर्ष पुरानो सो विमान इन्जिन फेल भएर दुर्घटना भएको जानकारी दिनुभएको छ । विमान उडेको केही समयमै एक प्रमुख नगरमा दुर्घटना भएको थियो ।
विमानमा क्षमताभन्दा बढी बोझ भएका कारण दुर्घटना भएको भन्ने सार्वजनिक रुपमा आएको भनाइ भने पुत्रान्टोले झूठो भएको दाबी गर्नुभएको छ । उक्त विमानमा करिब १२२ जना व्यक्ति रहेका बताइएको छ । सैनिकका अतिरिक्त उनका आफन्त एवम् परिवारजन पनि सो विमानमा रहेका जनाइएको छ ।
विमान दुर्घटनामा परी मृत्यु हुने व्यक्तिको सङ्ख्या बुधबार नै १४२ पुगेको प्रहरीले जनाएको थियो । मेदान नगरको आवासीय क्षेत्रमा विमान खसेको हुनाले नगरवासीको पनि सो दुर्घटनामा मृत्यु भएको बताइएको छ । उक्त विमानमा चालक दलका १२ सदस्यसहित १२२ यात्रु रहेको बताइएको छ ।
उक्त विमान वायुसैनिक केन्द्रबाट मध्याह्न १२ः०८ मा उडेको थियो । यसको दुई मिनेटपछि नै विमान सोही बजार क्षेत्रमा नै करिब पाँच किलोमिटर पर खसेको थियो ।
गत एक दशकमा इन्डोनेसियाली वायुसेनाको विमान दुर्घटना भएको यो छटौँ पटक भएको बताइएको छ । रासस/एएफपी















प्रतिक्रिया