चितवन, १७ असार । विश्व खाद्य कार्यक्रम (डब्लुएफपी)का लागि परवानीपुरबाट पठाइएको १८० मेट्रिक टन दाल चितवनको रत्ननगरमा प्रहरीले गोदाममै सिल गरेको छ ।
विश्व खाद्य कार्यक्रमका लागि बाराको परवानीपुरस्थित धनलक्ष्मी दाल मिलले पठाएको उक्त दाल प्रहरीले रत्ननगरस्थित दन्तकाली खाद्य स्टोर्समा सिल गरेको चितवनका प्रहरी प्रमुख सहकुलबहादुर थापाले आज जानकारी दिनुभयो ।
खाद्य कार्यक्रमका लागि भनेर ल्याइएको उक्त दालमा कीरा लागेको पाइएपछि सिल गरी अनुसन्धान सुरु गरिएको थापाले जानकारी दिनुभयो । रत्ननगरमा रहेको दन्तकाली स्टोर्सका सञ्चालक कन्हैयालाल राठीलाई समेत नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको उहाँले बताउनुभयो ।
“राठीले खाद्य कार्यक्रमका लागि भनेर ल्याइएको र कीरा परेको पाइएपछि फिर्ता गरेकाले ठाउँ नभएर टाँडीको गोदाममा राखिएको बयान दिएका छन्,” प्रहरी प्रमुख थापाले भन्नुभयो– “फिर्ता गर्नुपर्ने दाल टाँडीमा राखिएकाले यहाँबाट बिक्री हुन सक्ने आशङ्कामा सिल गरेका छौँ ।” अनुसन्धानपछि मात्रै सबै कुरा बाहिर आउने प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय रत्ननगरका प्रहरी निरीक्षक मुकुन्द रिजालले डब्लुएफपीको नाममा बिल काटिएको भए पनि छाप भने नरहेकाले आशङ्का रहेको बताउनुभयो । पक्राउ परेका उनलाई अहिले इलाका प्रहरी कार्यालय रत्ननगरमा राखेर अनुसन्धान थालिएको छ । रासस
















प्रतिक्रिया