७ कार्तिक २०८३, शनिबार

शुक्लाफाँटामा ‘एकसिङ्गे’ गैँडा सङ्ख्या एकले वृद्धि

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

gaida

बेलौरी (कञ्चनपुर), १७ असार । शुक्लाफाँटा वन्यजन्तु आरक्षमा ‘एक सिङ्गे’ गैँडाको सङ्ख्या एकले वृद्धि भएको छ । गत वर्षको तुलनामा यसवर्ष एकले वृद्धि भएर शुक्लाफाँटामा आठवटा गैँडाको सङ्ख्या पुगेका छन् ।

शुक्लाफाँटा वन्यजन्तु आरक्ष कार्यालयका सहायक संरक्षण अधिकृत चन्द्रबहादुर चन्दले गत वर्ष २०७१ भन्दा यस वर्ष २०७२ मा एकले वृद्धि भएर गैँडाको सङ्ख्या आठ यकिन भएको जानकारी दिनुभयो । उहाँका अनुसार तीन पोथी, एक भाले र चारको लिङ्ग पहिचान भएको छैन ।

ती मध्ये पाँच बयस्क, एक अर्धबयस्क र दुई बच्चा रहेका छन् । गैँडाको वासस्थान क्षेत्रमा ब्लकमा प्रत्येक १००÷१०० मिटरको दूरीमा भौगोलिक सूचना प्रणाली जिपिएस, रिसिभर, युनिट, दुर्बिन, वाकीटाकी, एन्ड्रेइड मोबाइल फोन, क्यामेरालगायतका आधुनिक उपकरणसहित प्राविधिकहरु हात्तीमा बसेर स्विप गर्दै प्रत्यक्ष गणना विधिबाट गैँडा गणना गरिएको आरक्ष कार्यालयले जनाएको छ ।

गणनाका क्रममा गैँडाको लिङ्ग, उमेर समूह पहिचान गरी विवरण सङ्कलन गरिएको सहायक संरक्षण अधिकृत चन्दले बताउनुभयो । बाह्रसिङ्गाको झुन्ड वासस्थान रहेको आरक्षमा गैँडाको समेत वासस्थान रहेकाले क्रमिकरुपमा सङ्ख्यामा वृद्धि भएको चन्दको भनाइ छ । “गैँडाका लागि आरक्षभित्र बस्न उपयुक्त छ” –उहाँले भन्नुभयो । आरक्ष कार्यालयको चारैतिर सुरक्षा व्यवस्था कडा भएकाले पनि गैँडाचोरी तस्करी नभएको चन्दको दाबी छ ।

शुक्लाफाँटा आरक्षको सुरक्षाको मुख्य जिम्मेवारी पाएको गरुडदलका प्रमुख सेनानी श्रवणकुमार विष्टले नेपाली सेनाले आरक्षको चारैतिर सुरक्षा व्यवस्था चुस्त दुरुस्त बनाएकाले चोरी तस्करीमा नियन्त्रण भएको बताउनुभयो । “चोरी तस्करी नियन्त्रण गर्न नेपाली सेनाले नियमित गस्ती गरेको छ” – उहाँले भन्नुभयो । सेनाको नियमित सुरक्षाका कारण शुक्लाफाँटामा चोरी, तस्करी नियन्त्रण भएको र आरक्ष संरक्षणका लागि स्थानीयस्तरबाट समेत सहयोग गर्नुपर्ने आरक्ष कार्यालयको भनाइ छ । रासस