काठमाडौं, १७ असार । द यूनाइटेड ह्याण्ड फाउण्डेशन अष्ट्रेलिया, नेपालले गत वैशाख १२ गते गएको महाभूकम्पबाट प्रभावित लमजुङका विभिन्न स्थानमा नगद राहत वितरण गरेको छ ।
विगत केही समयदेखि अष्ट्रेलियामा बस्दै आएका लमजुङका होमबहादुर प्यासीले अष्ट्रेलियामै सञ्चालन गरेका तीनवटा रेष्टुरेण्टमा च्यारिटी शो प्रदर्शन गरी जम्मा पारेको रकमबाट राहत वितरण गरेका हुन् ।
उनले भूकम्पले क्षति पु¥याएको लमजुङको सिम्पानी गाविसका ३७ घरपरिवारलाई तत्काल अस्थायी टहरा बनाउनका लागि जनही ५ हजारका दरले नगद राहत वितरण गरेको फाउण्डेशनका अध्यक्षसमेत रहेका प्यासीले जानकारी दिए । ‘अष्ट्रेलियामा सञ्चालन गरेको २ वटा गोर्खाली नेप्लीज रेष्टुरेण्ट र एउटा एल्वेनिक इटालीयन वार एण्ड रेष्टुरेण्टमा च्यारिटी शो गरेर नगद संकलन गरेको थिए,’ उनले भने, ‘नेपाली दाजुभाइको भूकम्पका कारण विचल्ली भएको देखेपछि केही भएपनि राहत दिने उद्देश्यले त्यस्तो काम गरेको हुँ ।’
उनले लमजुङकै सिम्पानी– ३ भलामस्थित सरस्वती आमा समूहकी अध्यक्ष मायादेवी भण्डारीलाई आमा समूहमा आवद्ध पीडितहरुको सहयोगार्थ व्यक्तिगतरुपमा नगद दुइलाख रुपैयाँ सहयोगसमेत गरेको बताए । अध्यक्ष प्यासीले भने, ‘वेशीसहर– १२ मैबुङका ३४ घरपरिवारलाई पनि तत्काल अस्थायी टहरा बनाउन मद्दत पुगोस भनेर ३४ घरपरिवारलाई जनही ५ हजारका दरले नगद राहत वितरण गरेको छु, यसले थोरै भएपनि पीडितलाई राहत महसुश हुनेछ ।’
गत वैशाख १२ गते भूकम्प गएपछि काठमाडौंका सुरेश महर्जनको घर भत्किएर आमाको निधन भएको र सुरेश काठमाडौं आउन रकम आवका कारण छटपटाएको देखेर व्यक्तिगतरुपमा प्यासीले हवाइ टिकटसमेत उपलब्ध गराएका थिए । शुक्रवार पुनः अष्ट्रेलिया फर्कन लागेका प्यासीले त्यहाँ पुगेपछि पुनः विशेष किसिमको च्यारिटी शो आयोजना रकम संकलन गर्ने र भूकम्प प्रभावित क्षेत्रका अति विपन्न समुदायलाई वितरण गर्ने लक्ष्य लिएको जानकारी दिए ।
भूकम्पप्रभावित क्षेत्रमा विभिन्न संस्थाले एउटै स्थानमा राहत वितरण गर्नुलाई उनले जायज ठानेका छैनन् । ‘एउटा संस्थाले एउटा क्षेत्रमा राहत र पुनस्थपनाको काम गर्ने हो भने सबैलाई समान राहत उपलब्ध हुने थियो,’ प्यासीले भने, ‘तर, कतै राहतको खातैखात छ, कतै भने वास्तविकले पाउनै सकेका छैनन् ।’ विशेष गरी विद्यालय र पुनर्निर्माणको क्षेत्रमा सहयोग केन्द्रीत गर्ने योजनामा रहेका उनले गत साल सिन्धुपाल्चोकको जुरेमा गएको पहिरो पीडितलाई पनि फाउण्डेशनमार्फत राहत उपलब्ध गराएका थिए ।















प्रतिक्रिया